काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले चिनियाँ राष्ट्रपति सी चिनफिङ र समकक्षी ली छ्याङलाई नेपाल भ्रमणको निम्तो दिएका छन्।
परराष्ट्र मन्त्रालयका प्रवक्ता कृष्णप्रसाद ढकालका अनुसार प्रधानमन्त्री ओलीले दुवै नेतासँगको भेटमा निम्तो दिएका हुन्।
नेपाल र चीनबीच कुटनीतिक सम्बन्ध स्थापना भएको ७०औँ वर्षको अवसरमा सन् २०२५ मा नेपाल भ्रमण गर्न प्रधानमन्त्री ओलीले राष्ट्रपति सीलाई आग्रह गरेका हुन्।
राष्ट्रपति रामचन्द्र पौडेलको तर्फबाट चिनियाँ राष्ट्रपति सीलाई प्रधानमन्त्री ओलीले नेपाल भ्रमणको निम्तो दिएको उनले बताएका छन्।
दुवैले उपयुक्त समयमा नेपाल आउने बताएका छन्।
सोमबारदेखि चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री ओलीले दुवैसँग भेटवार्ता गरेका थिए।
आफ्नो देश घुम्ने निम्तो दिएको नेपालले भने चीनबाट ९ अर्ब अनुदान पाउने आश्वासन पाएको छ। चिनियाँ राष्ट्रपति सीले ५ सय मिलियन युआन अर्थात् ९ अर्ब रुपैयाँ बराबरको सहयोग पाउने आश्वासन चीनबाट पाएको हो।
ओलीसँगको भेटमा राष्ट्रपति सीले उक्त आश्वासन दिएका थिए।


