काठमाडौं–नेपाली र भारतीय गिरोहको मिलेमतोमा नेपाली युवतीलाई झुक्याएर भारत पुर्याई वेश्यालय सञ्चालन गर्ने गरेको फेला परेको छ। प्रहरीले हालै झापामा पक्राउ परेकी म्याग्दीकी अप्सरा भन्ने एलिना खत्रीमाथि गरेको अनुसन्धानमा यस्तो तथ्य फेला परेको मानव बेचखिबन अनुसन्धान ब्यूरोका प्रहरी उपरीक्षक कृष्णप्रसाद पंगेनीले बताए।
उनका सहयोगी एक व्यक्तिले २४ कात्तिक २०७९ मा एउटी युवतीलाई नुवाकोटबाट बस चढेर काठमाडौंमा आफन्त भेट्न आउने क्रममा खानेकुरा तथा पानीमा बेहोस पार्ने औषधी मिसावट गरेर खुवाएका थिए। पीडित युवती बेहोस भएपछि उनले गिरोहसँगको मिलेमतोमा भारतको आसाम राज्यको सिल्चर रेडलाइट क्षेत्रको कोठीमा पुर्याएर उनलाई बेचेका थिए।
त्यसपछि खत्रीलगायतले पीडितलाई जबर्जस्ती वेश्यावृत्तिमा लगाएर राखेको प्रहरीले जनाएको छ। नेपाल प्रहरीले भारतीय प्रहरी र माइती नेपालको सहयोगमा पीडितको उद्धार गरेको थियो।
पीडितले दिएको जाहेरीका आधारमा खत्रीलाई जिल्ला प्रहरी कार्यालय झापाको सहयोगमा ३१ वैशाखमा पक्राउ गरी सोमबार काठमाडौं जिल्ला अदालतमा पेस गरिएकामा हिजै अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको छ। प्रहरीका अनुसार पीडित युवतीलाई बेचबिखनमा लगाउनेमा उनीसहित नेपाल र भारतका ६ जनाको संलग्नता रहेको खुलेको छ।
खत्री यसअघि पनि मानव बेचबिखन अपराधमा संलग्न रहेको पाइएको छ। गत वर्षको मंसिरमा उनी अदालतको आदेशले १ लाख ५० हजार धरौटी तिरेर तारेखमा छुटेकी थिइन्। मानव बेचबिखन मुद्दामा उनका श्रीमान् भारतीय नागरिक अजित शाह पुर्पक्षका लागि कारागार कार्यालय भद्रपुरमा रहेका छन्। प्रहरीले उनीहरूले यसरी नेपाली महिलालाई लगेर भारतमा कोठी सञ्चालन गरेको जनाएको छ।


