काठमाडौँ- उपनिर्वाचनमा निर्वाचित सप्तरीको डाक्नेश्वरी नगरपालिका १ का वडाध्यक्ष घिरेन्द्र कुमार साह पक्राउ परेका छन्।
मंसिर १६ मा भएको उपनिर्वाचनमा जसपा नेपालबाट साह वडाध्यक्षमा निर्वाचित भएका हुन्।
शुक्रबार पदभार ग्रहण समारोहबाटै उनलाई प्रहरीले पक्राउ गरेको छ।
प्रहरी स्रोतका अनुसार साहमाथि अदालतको परमादेशबाट कर्तव्य ज्यान मुद्दा प्रहरीले दर्ता गरेको छ।
सोही मुद्दामा अनुसन्धानका लागि उनलाई प्रहरीले पक्राउ गरेको हो।
साह जोडिएको घटना करिब तीन वर्ष पुरानो हो। २०७८ साल चैत २२ गते साह लगायतका व्यक्तिहरूले एक महिलालाई जबरजस्ती करणीसमेत गरी हत्या गरेको भन्दै २०७९ साउन १७ गते हुलाकमार्फत जाहेरी आएको थियो।
सोपश्चात २०८० साल जेठ १० गते जिल्ला सरकारी वकिल कार्यालय सप्तरीबाट इलाका प्रहरी कार्यालय कल्याणपुर सप्तरीमा उनीविरुद्ध अपहरण तथा शरीर बन्धक र कर्तव्य ज्यान मुद्दामा जाहेरी प्राप्त भएको जिप्रका सप्तरीले जनाएको छ।
उच्च अदालत जनकपुरबाट २०८० साल चैत ४ गते परमादेश पश्चात् २०८१ साल साउन १४ गते इलाका प्रहरी कार्यालय कल्याणपुरमा जाहेरी दर्ता भएको थियो।
गत साउन १५ गते अदालतबाट प्रहरीले पक्राउको अनुमति लिएको थियो।
सोही पक्राउ पुर्जीका आधारमा इप्रकाबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको जिप्रका सप्तरीका प्रहरी निरीक्षक मनिष श्रेष्ठद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।


