२०८३ कार्तिक १४ गते शुक्रबार

वर्ष बित्यो, उडेनन् जहाज

 |  Untitled
Sanket

Untitled

काठमाडौँ, जेठ २
gautambuddha international airport
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटनको लागि अघिल्लो वर्ष ल्यान्ड गरिएको जजिराको विमान। तस्बिर–रासस

पर्यटन सम्भावनादेखि होटल तथा पर्यटन व्यवसायमा ६० अर्ब बढी लगानी भइसकेकाले अन्तर्राष्ट्रिय उडान नियमित हुन नसक्दा पर्यटन क्षेत्रमा गरिएको लगानी असुरक्षित भएको छ।

लुम्बिनी – काठमाडौंपछिको पहिलो अन्तर्राष्ट्रिय विमानस्थल गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई नै लक्षित गरेर निजी क्षेत्रले ६० अर्बभन्दा बढी लगानी गरेको बताउँछन् नेपाल उद्योग वाणिज्य महासङ्घ लुम्बिनी प्रदेशका अध्यक्ष कृष्णप्रसाद शर्मा। होटलमा मात्र होइन, होटल निर्माणदेखि सेवा तथा पर्यटन क्षेत्रसँग सम्बन्धित विभिन्न निर्माण सामग्री विक्रेता, साजसज्जाका सामान बिक्री गर्ने ठूला व्यावसायिक प्रतिष्ठानका साथै अन्य व्यवसायमा पनि यहाँ अर्बौँअर्बको लगानी भएको उनी बताउँछन्।

‘विमानस्थल सञ्चालनमा आएपछि यसका कारणले मात्र दैनिक करिब २० हजार व्यक्तिको चहलपहल र चाप हुने हाम्रो आकलन थियो। यसको ठूलो आशाले यो क्षेत्र व्यावसायिक हव बनिसकेको पनि छ’, अध्यक्ष शर्माले भने, ‘तर पनि अहिले हामीले सोचेजस्तो गरी विमानस्थल सञ्चालनमा आउन सकेन, यसले त हामीलाई निराशा मात्र दिएको छ। यतिका धेरै लगानी डुब्ने त्रास दिनप्रतिदिन बढ्दो छ, तर हामी उद्योगी व्यवसायीसँग अरु कुनै विकल्प नै छैनन्।’

तर निजी क्षेत्र तथा यहाँका नागरिकको यो आशा र खुसी वर्ष दिन पनि टिकेन। आज विमानस्थल सञ्चालनमा आएको वर्ष दिन पुगेको छ। तर देशको अर्थतन्त्रको कम्तीमा पनि ८० प्रतिशत योगदान रहेको निजी क्षेत्रकै तर्फबाट यस्ता निराशा व्यक्त गर्नुपर्ने अवस्था आएको छ। विमानस्थल सोचेअनुसार सञ्चालनमा आउन सकेको छैन। यहाँ जहाज उडेका छैनन्। अक्कलझुक्कल विमान उडाएको जाजिराले पनि अहिले उडान रोक्ने सन्देश दिइरहेको छ।

ऋणमा बनेको विमानस्थल सञ्चालनमा सरकारले पैरवी नगरेको गुनासो शर्माले गरे। विमानस्थलमा निर्माणका लागि लगानी गरेको एडिबीले सम्भाव्यता अध्ययन नगरी लगानी गरेको होला भन्ने कल्पना त गर्न सकिँदैन तर किन लगानीअनुसार यो विमानस्थललाई पूर्णरूपमा सञ्चालनमा ल्याउन सकिएको छैन भन्ने कुरा बडो अन्योलपूर्ण रहेको उनको भनाइ छ। उनी भन्छन्, ‘एयररुटको कुरा, भारतीय अवरोधका कुरा सबै मिथ्या हल्ला मात्र हुन्, यस विषयमा बुझेर मात्र एडिबीले लगानी गरेको भन्नेमा हामी पूर्णरूपमा विस्वस्त छौँ’, शर्माले भने, ‘नेपाल सरकारले यसमा अग्रणी भूमिका निर्वाह गरेर यो समस्यालाई साम्य गर्नुपर्छ, विमानस्थल सञ्चालन गर्नुबाहेकको अर्को विकल्प छैन, हामीले सरकारसँग गर्ने माग पनि यही हो।’

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको दृश्य। फाइल तस्बिर

अध्यक्ष श्रेष्ठले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को आसन्न भारत भ्रमणका क्रममा उनीले भारतसँग दह्रोरूपमा कुरा उठाउन र यसलाई सञ्चालनमा ल्याउन ठोस पहल चाल्न सुझाव दिनुभयो। उनले भने, ‘मेरो यो सुझाव छ कि प्रधानमन्त्रीज्यूले आफ्नो भारत भ्रमण नै यही विमानस्थलबाट गर्नुहोस् र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्णरूपमा सञ्चालनमा ल्याउने अभियान थाल्नुहोस्।’

अर्बौँको लगानी जोखिममा

विमानस्थल निर्माणसँगै भैरहवा तथा यस आसपासका क्षेत्रमा तारे होटल खुल्ने क्रम बढ्यो। विमानस्थललाई नै लक्षित गरी भैरहवा, लुम्बिनीलगायतका क्षेत्रमा साना–ठूला गरी एक सय ४६ वटा होटल सञ्चालनमा छन्। यिनीहरूमा करिब ३० अर्ब लगानी भएको सिद्धार्थ होटल एशोसिएशनका अध्यक्ष चन्द्रप्रकाश श्रेष्ठ बताउँछन्। यसबाहेक २० अर्ब बढीका २१ वटा होटल अहिले पनि निर्माणाधीन रहेको उनको भनाइ छ। ‘विमानस्थललाई नै लक्षित गरी गरिएका अर्बौँको लगानी अहिले विमानस्थल सञ्चालनमा नआउँदा डुब्ने खतरा बढेको छ’, श्रेष्ठले भने, ‘व्यवसायीहरूमा बैकको ब्याज तिर्न नसकेर तनाव बढ्दै गएको छ, कतिपय त पलायन हुने अवस्था आएको छ।’

उनीले विमानस्थल सञ्चालनका लागि क्षेत्रीयस्तरमा भन्दा पनि राज्यस्तरबाट पहल नभएको गुनासो गरे। ‘सबै ठीक छ, विमानस्थल पनि तयार छ, विदेशी विमानभन्दा पनि आफ्नै देशका विमानले पत्याउनुपर्‍यो,’ उनले भने।

श्रेष्ठले पूर्वी एसियामा रहेका बौद्ध देशहरूबाट पर्यटक ल्याउने गरी सरकारले पहल गर्न आवश्यक रहेको औँल्याए। ‘हामीले पटक–पटक सम्बन्धित निकाय नागरिक उड्डयन प्राधिकरण, नेपाल सरकारसँग यी सब कुरा उठाएका हुन्छौँ’, उनले भने, ‘तर के–कति कारणले सञ्चालनमा आउन सकेको छैन, हामीले बुझेका छैनौँ।’

भैरहवामा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछि हवाई मार्गबाट यहाँ आउने पर्यटकका लागि केन्द्रमा राखेर बुटवलमा अर्बौँको लगानीमा दुईवटा केवलकार निर्माणाधीन अवस्थामा छन्। बुटवलबाट पाल्पाको तिनाउ गाउँपालिका–३ वसन्तपुर पुग्ने केवलकार अब सञ्चालनको अन्तिम तयारीमा रहेको छ। कम्पनीले तीन अर्ब ५२ करोड लागत अनुमान गरिएको केवलकार तीन किलोमिटर लम्बाइको हुनेछ। केबलकारको बुटवल–३ बमघाटमा तल्लो स्टेशन र पाल्पाको तिनाउ गाउँपालिका–३ वसन्तपुरमा माथिल्लो अन्तिम स्टेशन छ।

करिब तीन किलोमिटर लामो केवलकारपछि पुगिने वसन्तपुर डाँडामा पर्यटकलाई आकर्षित गर्न होटल, मनोरञ्जन पार्क तथा कामाख्यादेवीको मन्दिरसहितका संरचना निर्माण भइरहेका छन्। वसन्तपुरमा मनोरञ्जन पार्क, पिकनिक स्पट पनि रहने भएको छ।

त्यस्तै सिद्धार्थ केवलकार प्रालिले बुटवलको मणि मुकुन्दसेन उद्यान फूलबारीबाट उत्तर–पूर्वपट्टिको देउरालीबाट पाल्पाको नुवाकोटगढीसम्म सञ्चालन गर्ने गरी निर्माणाधीन केवलकार पनि अन्तिम चरणमा पुगेको छ। केवलकारको लम्बाइ दुई किमी ९० मिटर रहने छ। करिब डेढ अर्बको लागतमा बन्न लागेको केवलकारमा ४० जनाको लगानी छ।

बुद्ध एयरको ७२ सिटे जहाज पहिलोपटक सङ्खुवासभाको तुम्लिङटार विमानस्थलमा यात्रु ओर्लदै । विमानस्थलको स्तरोन्नति भएसँगै बुद्ध एयरको ७२ सिटको जहाजले मङ्गलबारदेखि दैनिक रुपमा काठमाडौँ–तुम्लिङटार–काठमाडौँ उडान भर्ने नागरिक उड्डयनको कार्यालय तुम्लिङटारले जनाएको छ। तस्बिर: सुजन बज्राचार्य/रासस

रुट होइन समस्या

विमानस्थल प्रमुख हंशराज पाण्डेका अनुसार बाहिर हल्ला भएजस्तो रुटकै समस्याको कारण विदेशी विमान नआएको सत्य होइन। विमानलाई काठमाडौंभन्दा भैरहवाको विमानस्थलमा अवतरण गर्न सहज र कम खर्चिलो हुने पाण्डेको भनाइ छ। ‘सिमराबाट छिरेका विमानलाई काठमाडौं जानुभन्दा सहज भैरहवा आउन हुन्छ। दूरीका दृष्टिले केही टाढा रहे पनि काठमाडौँजस्तो अवरोध यहाँ छैन’, पाण्डेले भने, ‘आकाशमा ट्राफिकका कारण विमान अवतरण हुन नसके यसले थप खर्च बढाउँछ, यहाँ त्यस्तो कुनै समस्या छैन।’

लिमा–६२६ हुँदै बाहिर उड्ने विमानलाई भैरहवाबाट उड्दा पनि दूरी छोटिने उनको भनाइ छ। ‘यो कुरा पाइलटले पनि बुझेका हुन्छन्, त्यसकारण रुटकै कारण विमानस्थल नचलेको निराधार हल्ला हो’, पाण्डेले भने। उनीले लिमा–६२६ लाई दुइतर्फी गर्न सके यसले भैरहवा विमानस्थललाई थप सहज बनाउने बताए। भैरहवा आउने अन्तर्राष्ट्रिय विमानलाई भैरहवामाथिकै रुट दिए पनि विमानलाई तोकिएको उचाइकै कारण अवतरणका लागि आकाशमा फन्को लगाउनुपर्ने र यसले पनि उत्तिकै खर्च बढाउने पाण्डेको तर्क छ।

विमानस्थल सञ्चालनका क्रममा हिउँद महिनामा समस्या आउने पाण्डेको भनाइ छ। जाडोमा यहाँको भिजीबिलिटी या त शून्य हुन्छ या राम्रै हुने गरेको छ। इन्स्ट्रमेन्ट लैन्डिङ्ग सिस्टम (आइएलएस)ले अवतरण गराउँदा पनि शून्य भिजीबिलिटीमा गराउन नसकिने उनको भनाइ छ। ‘अहिले नेपालका विमान पर्फमेन्स बेस नेभिगेशन (पिबिएन)मा उडान भरिरहेका छन्’, उनले भने, ‘आइएलएसले शून्य भिजीबिलिटीमा अवतरण गराउन सकिँदैन तर यसले पिबिएनलाई थप सहज भने बनाउँछ।’

विमानस्थलको सुविधा एक वर्षलाई थप

भैरहवा विमानस्थलमा अन्तर्राष्ट्रिय वायु सेवाहरूलाई आकर्षित गर्न अवतरण शुल्क, बिसान शुल्क, सञ्चार तथा उड्डयन सेवा शुल्क र सुरक्षा जाँच शुल्कमा पहिलो वर्ष शतप्रतिशत छुट प्रदान गरिएको थियो। गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक पाण्डेले यो सुविधा एक वर्षका लागि थप भएको जानकारी दिनुभयो। विसं २०७९ जेठ १४ गते लागू भएको यो सुविधा यही १३ गते सकिँदै थियो। अब यो सुविधा २०८१ को जेठ १३ गतेसम्म उपभोग गर्न पाइने पाण्डेले बताए। यसैगरी नेपाल वायुसेवा निगमले लिने ग्राउण्ड हयाण्डलिङ सेवा शुल्कमा ५० प्रतिशत छुट दिँदै आएको छ।

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल। तस्बीर-सीबी अधिकारी। रासस

विसं २०२१ मा घाँसे हवाई मैदानबाट सुरु भएको भैरहवाको विमानस्थल २०२३ सालमा आन्तरिक विमानस्थलका रूपमा हालको स्थानबाट सञ्चालनमा रहेको छ। विसं २०७१ माघ १ गते तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले अन्तर्राष्ट्रिय विमानस्थलको शिलान्यास गरेका थियो। करिब रु ३५ अर्बको लागतमा निर्माण भएको विमानस्थलको गत वर्ष आजकै दिन तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गरेका थियो।

करिब आठ सय बिघामा फैलिएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा तीन किलोमिटरको रनवे रहेको छ। फोर ई क्याटोगरीको विमानस्थलमा नवौँ क्याटोगरीको दमकल रहेका छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सरहको उडान र अवतरण हुनसक्ने यहाँ चारवटा न्यारोबडी र एउटा वाइडबडी गरी पाँचवटासम्म अन्तर्राष्ट्रिय जहाज पार्किङ गर्न सकिन्छ।

प्रधानमन्त्रीलाई निजी क्षेत्रको ध्यानाकर्षण

विमानस्थल नियमित, डाइभर्ट भएका तथा आकस्मिक अवतरणको लागि पूर्णरूपमा तयार रहेको छ। २५६७औँ बुद्ध जयन्ती तथा लुम्बिनी दिवस २०८० मूल समारोहका सहभागी हुन वैशाख २२ गते लुम्बिनी आउनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लुम्बिनी क्षेत्रका उद्योगी व्यवसायीले भेटर गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्णरूपमा सञ्चालनका लागि ज्ञापनपत्र नै बुझाए। उनीहरूले ज्ञापनपत्रमा प्रधानमन्त्री प्रचण्डको आसन्न भारत भ्रमणको सुरुआत गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट हुनुपर्ने मागसमेत राखेका छन्।

प्रधानमन्त्री प्रचण्डलाई सिद्धार्थ उद्योग वाणिज्य सङ्घका प्रतिनिधिमण्डलले भेटी विमानस्थल पूर्णरूपले सञ्चालनका लागि ज्ञापनपत्र बुझाएका हुन्। ज्ञापनपत्रमा राष्ट्रिय ध्वजाबाहक जहाजको उडान नहुँदासम्म अन्य स्वदेशी तथा विदेशी विमान कम्पनी आकर्षित नभएकाले नेपाल वायुसेवा निगमका जहाजबाट सेवा सुरु गर्नुपर्ने ज्ञापनपत्रमा उल्लेख गरिएको छ।

नेपाल वायुसेवा निगमबाट तत्काल भैरहवा–दिल्ली, भैरहवा–मलेसिया, भैरहवा–कतारको उडान सुरु गर्नुपर्ने र बुद्ध जन्मस्थल लुम्बिनीको प्रवेशद्वार यही भएकाले विश्वका सबै बुद्धिष्ट मुलुकहाई पनि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित वा चार्टर्ड उडानका लागि पहल गरिदिन प्रधानमन्त्रीसँग माग गरिएको छ।

ज्ञापनपत्रमा लुम्बिनी क्षेत्रको पर्यटन सम्भावनादेखि होटल तथा पर्यटन व्यवसायमा ६० अर्ब बढी लगानी भइसकेकाले अन्तर्राष्ट्रिय उडान नियमित हुन नसक्दा पर्यटन क्षेत्रमा गरिएको लगानी असुरक्षित भएकाले सो लगानी सुरक्षित गराउने वातावरणका लागि पहल गर्नुपर्ने सङ्घले माग गरेको छ।

वैकल्पिक विमानस्थल पनि बनाइएन

गत वर्ष फागुन १४ गते दिउँसो राजधानी काठमाडौंको मौसम खराब भयो। सोही समयमा भारतको नयाँ दिल्लीबाट काठमाडौंका लागि उडेको भिस्तारा एयरको विमान र दुबईबाट काठमाडौ उडेको फ्लाइ दुबईको विमान खराब मौसमका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुन सकेनन्। त्रिभुवन विमानस्थलमा अवतरण हुन नसकेपछि दुवै विमान भारतको लखनउ ‘डाइभर्ट’ भए।

यस्तै गत वैशाख ११ गते फ्लाई दुबईको विमान त्रिभुवन विमानस्थलबाट उडान भर्ने क्रममा इन्जिनमा आगलागी भयो। विमान चालकले नेपालमा तीनवटा अन्तर्राष्ट्रिय विमानस्थल भए पनि यहाँ अवतरणमा चासो देखाएनन्। विमान भैरहवाकै आकाश हुँदै आफ्नो गन्तव्यतर्फ लाग्यो। तर एक वर्षअघि सञ्चालनमा आएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने प्रयास नै गरेनन्।

नेपाल आउने अन्तर्राष्ट्रिय विमानले विमान डाइभर्ट गर्नुपरे वा आकस्मिक अवतरण गराउनुपरे नेपाली विमानस्थलभन्दा नेपाल बाहिरकै विमानस्थललाई पहिलो प्राथमिकतामा राख्ने गरेका यी उदाहरण घटना मात्र हुन्। नेपाल आउने प्रत्येक अन्तर्राष्ट्रिय विमानहरूले वैकल्पिक विमानस्थल चयन गर्नुपर्ने हुन्छ। प्रायः सबै विमानले वैकल्पिक विमानस्थलको रूपमा भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई राख्ने गरेका पनि छन्। वैकल्पिक विमानस्थलमा परे पनि अहिलेसम्म यहाँ ‘डाइभर्ट’ भएको एउटा पनि विमान अवतरण भएका छैनन्।

‘हामी प्रत्येक दिन २४ घण्टा नै विमानस्थल तयार राखेका हुन्छौँ, सोहीअनुसार जनशक्ति पनि व्यवस्थापन गरेका हुन्छौँ’, गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक हंशराज पाण्डेले भने, ‘सबै पूर्वाधार हुँदाहुँदै पनि यहाँ विमान आउन रुचि देखाउँदैनन्।’

काठमाडौँको आकाशबाट खिचिएको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको रनवेलगायत आसपासको दृश्य (२०८०-१-२७)। तस्बिर: प्रदीपराज वन्त/रासस

विमानस्थल प्रमुख पाण्डेकै शब्दमा ‘बिजनेस’ नपाएका कारण विमान यहाँ आउन रुचि नदेखाएका हुन्। विमानस्थलमा डाइभर्ट भएर आउने विमान र यसका यात्रु विभिन्न सुरक्षा एवं प्राविधिक जाँचबाट गुज्रिनुपर्ने उनको भनाइ छ। ‘ठूला विमानमा तीन सय बढी यात्रु रहेका हुन्छन्, यी यात्रुलाई तारे होटलमा राख्नुपर्ने हुन्छ, यसका लागि होटलसँग कम्पनीले सम्झौता गरेका हुन्छन्’, पाण्डेले भने, ‘भैरहवाको हकमा अहिलेसम्म कुनै होटलसँग यस किसिमको सम्झौता भएको मेरो जानकारीमा छैन।’

भैरहवा विमानस्थलमा आकस्मिक उडान गरेर राति होल्ड हुनुपर्‍यो भने यात्रुलाई कहाँ राख्ने, चालकदलका सदस्यलाई कसरी व्यवस्थापन गर्ने र दोस्रो दिन उडान गर्नुअघि विमान जाँच कसले गर्ने भन्ने विषय निश्चित नभएकाले पनि विमान यहाँ आउन नचाहेको जानकारहरू बताउँछन्। भैरहवा विमानस्थल नियमित सञ्चालन भएर सहजै यस्ता सुविधा प्राप्त नहुँदासम्म काठमाडौंमा अवतरण हुन नसकेका विमान भैरहवामा अवतरण गराउन सकिँदैन।

यसबाहेक नेपाल–भारतमा इन्धनको मूल्यमा रहेको असमानताले पनि डाइभर्ट उडान भैरहवामा अवतरण गराउन बाधा गरेको छ। नेपालको तुलनामा भारतमा हवाई इन्धनको मूल्य धेरै सस्तो छ। नेपालमा हवाई इन्धनको मूल्य एक हजार तीन सय ६० डलर प्रतिहजार लिटर रहेको छ भने भारतमा सोही परिमाणको इन्धनको मूल्य नौ सय ९८ डलरमात्र रहेको छ। ठूलो परिमाणमा इन्धन राख्ने विमानलाई भारतको इन्धनको कारण लाखौँ रुपैयाँ बचत हुने भएकाले पनि उनीहरुको रोजाइमा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पर्दैन।

विमानस्थल प्रमुख पाण्डेका अनुसार पाइलटले जहाज जहाँ लैजान्छु भन्छ त्यही जान पाउँछ, हामीले गौतमबुद्ध नै आउँ भन्न मिल्दैन। दूरी र समयको हिसाबले लखनउभन्दा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निकै नजिक पर्छ। तत्कालको अवस्थामा विदेशी एयर कम्पनीका जहाजले मात्रै होइन नेपाल एयरलाइन्सका जहाजले समेत काठमाडौँबाट डाइभर्ट भएका जहाज गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको सट्टा लखनउ नै लैजाने गरेका छन्।

जहाज डाइभर्ट भएर गौतमबुद्धमा अवतरण भएपछि पुनः उडानका लागि इञ्जीनियर चाहिन्छ। त्यो सम्बन्धित कम्पनीले नै व्यवस्थापन गर्नुपर्ने हुन्छ। तर कि त गौतमबुद्धबाट उडान गरिरहेका एयरलाइन्स कम्पनीसँग इञ्जीनियरका लागि कम्पनीले सम्झौता गर्नुपर्छ, अन्यथा त्यस किसिमको प्राविधिक जनशक्ति आफैँ व्यवस्था गर्नुपर्ने हुन्छ। अहिलेसम्म गौतमबुद्ध विमानस्थलबाट उडान गरिरहेको जजिरा एयरसँग उनीहरूको सम्झौता नभएका कारण पनि यहाँ अवतरण नगरेको हुनसक्ने विमानस्थलका कर्मचारीहरू बताउँछन्।

आफ्नो इञ्जीनियर नभएको ठाउँमा जहाज अवतरण गरेको अवस्थामा पुनः उडान गर्न नपाउने हुँदा जहाज त्यहीँ रोकिने र त्यसका लागि लामो प्रक्रिया हुने हुँदा सहजताका लागि लखनउनै रोज्ने गरेका जानकारहरू बताउँछन्।

– भरत केसी/राधेश्याम विश्वकर्मा। रासस

प्रकाशित: २०८० जेठ २ गते मङ्गलबार १२:५६
प्रतिक्रिया

थप समाचार

जहाजको पांग्रा जनकपुरमै खस्यो, काठमाडौँमा सुरक्षित अवतरण

काठमाडौँ- जनकपुरबाट काठमाडौंका लागि उडेको बुद्ध एयरको जहाजको अगाडिको पांग्रा उड्ने क्रममा जनकपुरमै खसेको छ। तर, विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सुरक्षित रूपमा अवतरण गर्न सफल...

६ यात्री बोकेको रुसी जहाज अफगानिस्तानमा दुर्घटना

अधिकारीहरुका अनुसार उक्त जहाज चार्टर गरिएको एयर एम्बुलेन्स हो। त्यसमा ६ जना थिए। 

बीचबाटोबाटै काठमाडौँ फर्काइयो बुद्धको जहाज

६२ जना यात्रु बोकेर उडेको जहाजलाई सकुशल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गराइएको छ।
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।
Amit_Agrawal_Greenline
बैंकिङ

ऋण नतिरेपछि ग्रिनलाइनका अमित अग्रवालको सम्पत्ति लिलाम गर्दै एनआईएमबी

बैंकले आरती घिराई अग्रवालको नाममा मालपोत कार्यालय कलंकीमा दर्ता भएका दुई रोपनी १५ आना जग्गा लिलाम गरेर ऋण असुली गर्न लागेको हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना