नेकपा (एमाले) ले मंगलबार सचिवालय बैठक बोलाएको छ। पार्टी केन्द्रीय कार्यालयका सचिव भीष्म अधिकारीका अनुसार सचिवालयको बैठक आज अपराह्न ४ बजे च्यासलमा बस्नेछ।
आज बस्ने बैठकमा हालै सम्पन्न स्थानीय निकायको उपनिर्वाचन र प्रधानमन्त्रीको चीन भ्रमणबारे समीक्षा हुने एमालेले बताइएको छ।
यही मंसिर १६ गते भएको स्थानीय तह उपनिर्वाचनमा एमालेले स्थानीय तहका कूल ४४ स्थानमा भएको उपनिर्वाचनमा एमाले ८ स्थानमा निर्वाचित भएको थियो। एमालेले एक गाउँपालिका अध्यक्ष, दुई उपाध्यक्ष र पाँचवटा वडाध्यक्ष जित्यो।
प्रधानमन्त्री ओली भर्खरै चीनको औपचारिक भ्रमण गरेर स्वदेश फर्किएका छन्। भ्रमणका बेला नेपाली परियोजनामा चिनियाँ सहयोग रहने गरी बेल्ट एण्ड रोड इनिसिएटिभ (बिआरआई) परियोजनाको फेमवर्कमा हस्ताक्षर भएको थियो। बिआरआइ फ्रेमवर्कमा हस्ताक्षर हुनुलाई एमालेले उपलब्धीका रूपमा चित्रण गरेको छ।
यी विषयमा आज सचिवालय बैठकमा छलफल हुने एमालेले जनाएको छ।


