काठमाडौं– गगन थापा स्वास्थ्यमन्त्री हुँदा प्रमुख सल्लाहकारका रुपमा सघाएका प्रताप पौडेललाई अहिलेका स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदिप पौडेलले पनि विज्ञ सल्लाहकार रुपमा आफ्नो टिममा भित्र्याएका छन्।
विद्यार्थी राजनीतिदेखि नै गगन थापालाई आयामिक तरिकाले सघाइरहेका बाग्लुङमा जन्मेहुर्केका प्रतापलाई महामन्त्री गगनसँगको सल्लाहमा नै प्रदीपले आफुलाई सघाउन टिममा ल्याएको मन्त्रीनिकट स्रोतहरुको भनाइ छ।
‘स्वास्थ्य क्षेत्रमा अझै गतिशिल रुपमा परिणामुखी काम गर्नका लागि मन्त्रीजीले विज्ञ सल्लाहकारहरुको टिम बनाउनुभएको छ, यसअघिको अनुभव र एक प्रकारले प्रतापजीको क्षमता सदुपयोग होस् भनेर पनि उहाँ टिममा पर्नुभएको हो’, मन्त्री पौडेलको सचिवालयका एक सदस्यले नेपाल क्लिक्सलाई भने, ‘आशा छ, अवका दिनमा मन्त्री पौडेललाई थप सहज हुनेछ। यसका प्रभाव सकारात्मक रुपमा निर्णयहरुमा देखिनेछ।’
पब्लिक पोलिसी पाठशालाको नेतृत्व गरिरहेका प्रतापले टिममा रहेर खासगरी नीति निर्माणका सवालमा सांसद गगन थापालाई सघाइरहेका थिए। स्वास्थ्यका सवालमा मात्र होइन, सदनमा दर्ता भएका महत्वपूर्ण मस्यौदा विधेयकहरु सम्बन्धमा पनि उनले गगनलाई दृष्टिकोण निर्माणमा महत्वपूर्ण रुपमा सघाउँदै आइरहेका थिए।
गगन स्वास्थ्यमन्त्री हुँदा स्वास्थ्यका विभिन्न कानुन निर्माणका साथै स्वास्थ्य बीमा, एकीकृत स्वास्थ्य पूर्वाधार, विद्यालय नर्सिङ कार्यक्रम, स्वास्थ्य अनुसन्धान रणनीति, सहरी स्वास्थ्य प्रवर्द्धनलगायतमा पनि प्रतापले योगदान गरेका छन्। त्यसैगरी जनस्वास्थ्य ऐनको प्रारम्भिक मस्यौदा निर्माणमा उनको भूमिका छ।
मन्त्री पौडेल गठन गरेको विज्ञ सल्लाहकारको टिममा प्रतापसहित थप चार जना व्यक्तित्वपनि समेटिएका छन्। डा भगवान कोइराला, डा सुधा शर्मा, अमित भण्डारी र रघुराज काफ्ले पनि विज्ञ सल्लाहकार बनेका हुन्।
मुटुरोग विशेषज्ञ डा कोइरालाले विभिन्न सरकारी अस्पतालको नेतृत्व लिनुका साथै विभिन्न स्वास्थ्य मन्त्रीहरुको औपचारिकरअनौपचारिक सल्लाहकारका रुपमा काम गरेका छन्। डा शर्मा पूर्व स्वास्थ्य सचिव हुन भने अमित भण्डारी जनस्वास्थ्य विज्ञ हुन्। उनी विभिन्न अन्तर्राष्ट्रिय संघसंस्थाको नेतृत्वमा तहमा रहेर काम गरिरहेका छन् काफ्लेले गण्डकी प्रदेश योजना आयोगको उपाध्यक्षका रुपमा काम गरेका छन्।


