काठमाडौँ- मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई साढे ७ वर्षसम्म कैदमा राख्न माग गर्दै अदालतमा मुद्दा भएको छ। बुधबार साइबर अपराध कसुरको आरोपमा उनीमाथि मुद्दा दर्ता भएको हो।
काठमाडौँ जिल्ला अदालत प्रसाईंविरूद्ध मुद्दा दर्ता भएको अदालतका स्रेस्तेदार रामु शर्माले जानकारी दिए। विद्युतीय (ईलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ को दफा ४७ अनुसार उनीमाथि कैद सजायको माग गर्दै मुद्दा दायर भएको हो।
उक्त कसुरअनुसार एक लाख रुपैयाँसम्म जरिवाना वा पाँच वर्षसम्म कैद वा दुवै सजायसम्म माग गरी मुद्दा दर्ता गरेको हो। त्यसैगरी प्रसाईंले दोहोर्याएर सोही अपराध गरेको भन्दै थप सजायको पनि माग गरेको हो। ‘कुनै व्यक्तिले उपदफा (१) बमोजिमको कसुर पटक-पटक गरेमा त्यस्तो कसुर बापत अघिल्लो पटक भएको सजायको डेढी सजाय हुनेछ,’ उक्त दफाको उपदफा २ मा भनिएको छ। यसरी प्रसाईंलाई साढे सात वर्षसम्म सजाय गर्न माग गरिएको छ।
प्रसाईंलाई पहिलो कसुरमा असोज ६ गते पक्राउ गरेको थियो। दुई वटा छुट्टाछुट्टै जाहेरीका आधारमा उनी ९ दिन हिरासतमा बसेर छुटेका थिए। जिल्ला अदालतले दुई वटा कसुरमा ५०-५० हजार धरौटी माग गरेको थियो।
त्यो मुद्दा किनारा नलाग्दै प्रधानमन्त्री केपी शर्मा ओलीमाथि कम्बोडियाको टेलिकममा लगानी गरेको आरोप लगाएपछि केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले भक्तपुरको निवासबाट मंसिर ४ गते पक्राउ गरेको थियो।
उनीमाथि आपराधिक लाभ र संगठित अपराधमा पनि अनुसन्धान थालिएको छ। नेपालका उच्चस्तरीय व्यक्ति तथा व्यवसायीहरूलाई धम्क्याउन झापाका हरिचन्द्र फुयाललाई परिचालन गरेको आरोप पनि उनीमाथि छ। प्रसाईंकै निर्देशनमा फुयाँलले भारतमा बसेर विभिन्न व्यक्तिहरूलाई धम्की दिएको प्रहरीको अनुसन्धानले देखाएको बताइएको छ।
विभिन्न अपराधको आरोपमा हाल जेलमा रहेका भारतीय नागरिक लरेन्स बिस्नोईको नाम लिएर प्रसाईंले नेपाली व्यापारीहरूलाई धम्क्याएको आरोप पनि छ।
विस्नोईले जेलभित्रैबाट आफ्नो समूह परिचालन गर्दै आएका छन्। उनको समूहमा सात सयभन्दा धेरै मानिस रहेको भारतीय सञ्चार माध्यमको दाबी छ। भारतीय मिडियाका अनुसार उनको पहुँच क्यानडा, इटाली, अस्ट्रेलियासम्म छ।


