पोखरा- पोखरा महानगरपालिकामा दर्ता नवीकरण विनै पेट्रोल पम्प सञ्चालनमा रहेको पाइएको छ। पोखरा महानगरपालिका उपप्रमुख मञ्जुदेवी गुरुङको नेतृत्वमा गएको अनुगमन टोलीले दर्ता नवीकरण नगरी पेट्रोल पम्प सञ्चालन गरिएको फेला पारेको हो।
गुरुङको नेतृत्वमा हेमजा, मालेपाटन, जरेबर र बिरौटामा सञ्चालित पाँच वटा पेट्रोल पम्पमा अनुगमन गरिएको थियो। हेम्जाको जयबुद्ध आयल स्टोर्स, सिम्पानीको पराजुली आयल स्टोर्स, मालेपाटनमा सशस्त्र प्रहरी बलले सञ्चालन गरेको कालिका फ्युल स्टेसन, मासबारको बराल आयल डिष्ट्रिब्युटर्स र बिरौटाको अन्नपूर्ण आयल डिष्ट्रिब्युटर्समा अनुगमन गरिएको थियो। यीमध्ये जय बुद्ध र अन्नपूर्ण आयलको नवीकरण नभएको पाइएको गुरुङले जानकारी दिइन्।
पोखरा महानगरपालिकाले मंगलबार गरेको पेट्रोलपम्पको अनुगमनमा परिणाम र गुणस्तरमा कैफियत फेला नपरे पनि दुई पेट्रोल पम्पको नवीकरण नभएको पाइएको अनुगमन संयोजक मञ्जुदेवी गुरुङले जानकारी दिइन्। नवीकरण नभई सञ्चालन भएका पेट्रोल पम्पलाई तत्काल दर्ता हुन निर्देशन दिइएको गुरुङले जानकारी दिइन्। उनीहरूले तत्काल दर्ता हुने प्रतिबद्धता व्यक्त गरेका छन्।
पोखरा महानगरपालिकाकी उपमेयर मञ्जुदेवी गुरुङ नेतृत्वको अनुगमन टोलीमा जिल्ला प्रशासन कार्यालय, नेपाल गुणस्तर तथा नापतौल विभाग र नेपाल आयल निगमका प्रतिनिधिसमेत सहभागी थिए।


