काठमाडौँ – दुर्गा प्रसाईंलाई गैरकानुनी रूपमा थुनामा राखेको दाबीसहित सर्वोच्च अदालतमा परेको अर्को बन्दी प्रत्यक्षीकरणको निवेदन दर्ता भएको छ।
प्रसाईंका छोरा निराजनले सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको निवेदन दर्ता गराएका हुन्।
यसअघि पनि यस्तै निवेदन दर्ता भएको थियो। तर उक्त निवेदनमा सर्वोच्चले प्रसाईंलाई कानुनसम्मत थुनामा राखेको ठहर गरेको थियो। प्रहरी हिरासतमा रहेका प्रसाईंमाथि आपराधिक विश्वासघातको आरोपमा अनुसन्धान भइरहेको छ।
उनका छोरा निराजनले आपराधिक विश्वासघातको अनुसन्धानका क्रममा समेत आफ्ना बाबुलाई गैरकानुनी थुनामा राखिएको जिकिर गरेका हुन्।
प्रसाईंले कम्बोडियामा प्रधानमन्त्री केपी शर्मा ओलीको प्रत्यक्ष लगानी रहेको भन्दै केही समयअघि भ्रामक प्रचार गरेका थिए। त्यसपछि उनलाई प्रहरीले पक्राउ गरी उनीमाथि अनुसन्धान गरिरहेको छ।


