काठमाडौँ- पाठेघरको मुखको क्यान्सर हुन नदिन सरकारले झन्डै १७ लाख बालिकालाई ‘एचपिभी’ खोप लगाउने तयारी गरेको छ।
१० वर्षदेखि १४ वर्षसम्मका बालिकाहरूलाई लक्षित गरी यो खोप लगाउने तयारी गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।
यो कार्यक्रमका लागि खोपका लागि ग्लोबल एलायन्स (गाभी)को सहयोग छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पाठेघरको मुखको क्यान्सरविरुद्ध लगाइने ‘ह्युमन पापिलोमा भाइरस’ (एचपिभी) खोपको ४ लाख ६० हजार ९४० डोज पाउने पाएको छ। स्वास्थ्य सेवा विभागको आपूर्ति व्यवस्थापन महाशाखाका निर्देशक डा पवनजङ्ग रायमाझीले ४ लाख ६० हजार ९४० मात्रा खोप जानकारी दिए।
ती खोपलाई अहिले टेकुस्थित भण्डारण कक्षमा राखिएको र विस्तारै प्रदेशमा पठाइने छ।
सरकारले किशोरीलाई सानै उमेरबाट नै क्यान्सरबाट जोगाउन आगामी माघ २३ गतेबाट खोप अभियान सञ्चालन गर्ने तयारी गरेको छ।
यसबाट १६ लाख ८८ हजार ९ सय किशोरी लाभान्वित हुने बताइएको छ। बालस्वास्थ्य तथा खोप शाखाका प्रमुख डा. अभियान गौतमका अनुसार १७ लाख ७० हजार डोज खोप गाभीले नेपाललाई उपलब्ध गराउने छ।
पाठेघरको मुखको क्यान्सरको जोखिम बढाउने मुख्य कारण ह्युमनपापिलोमा भाइरस सङ्क्रमण रहेकोले त्यसको विरुद्ध खोप लगाउनुपर्ने हुन्छ।
ह्युमन पापिलोमा भाइरस सङ्क्रमण कलिलो उमेरमा विवाह गर्ने, कलिलो उमेरमै बच्चा जन्माउने, धेरै बच्चा पाउने, छोटो अन्तरालमा लगातार बच्चा पाउने र धेरै जनासँग यौन सम्बन्ध बनाउने, धेरै धूम्रपान तथा मद्यपान गर्ने र यौनाङ्गको सरसफाइमा ध्यान नदिनेले हुने गर्दछ।
नेपालमा सबभन्दा बढी महिलामा लाग्ने क्यान्सरमध्ये पाठेघरको मुखको क्यान्सर सबभन्दा बढी देखिने र त्यसपछि स्तन क्यान्सर रहेको छ।


