धनगढी – नेपाली कांग्रेसका वरिष्ठ नेता डा.शेखर कोइरालाले अब पार्टीभित्र कसैलाई अन्याय हुन नदिने बाचा गरेका छन्।
शनिबार नेपाल प्रजातान्त्रिक सेनानी संघको सुदूरपश्चिम प्रदेशको प्रथम अधिवेशनलाई सम्बोधन गर्दै उनले भने, ‘‘अब पार्टीभित्र न्याय हुन्छ। त्यसको जिम्मा म लिन्छु।’ उनले नेपाली कांग्रेस र नेकपा एमालेको संयुक्त सरकारका क्रियाकलापबाट आफू निराश भएको पनि बताए।
नेपाली कांग्रेसको १५ औँ महाधिवेशनपछि आफूले युग सुहाउँदो कांग्रेस बनाउने दाबी गरेका कोइरालालले अबको कांग्रेस बलियो र गतिशील हुनुपर्ने बताए।
पार्टीभित्र एकता र सहकार्यलाई जोड दिइनुपर्ने र त्यसका लागि आफू नेतृत्व लिन तयार रहेको समेत उनको भनाइ थियो। भने, ‘नेपाली कांग्रेसको १५ औँ महाधिवेशन २०८२ भित्रै हुनुपर्छ। पार्टीको विधानअनुसार महाधिवेशन हुनुपर्छ। यसमा किन्तु परन्तु भन्न पाइँदैन।’
महाधिवेशनले पार्टीलाई नयाँ जीवन दिने समेत उनको भनाइ थियो ‘महाधिवेशनले नयाँ कार्यदिशा तय गर्छ, यसकारण महाधिवेशन बेलैमा हुनुपर्छ,’ उनले भने। नेपाली कांग्रेसलाई जोगाउन तथा लोकतन्त्रको सुदृढीकरण गर्न पनि महाधिवेशनको आवश्यक रहेको उनले बताए। उनले भने, ‘अहिले नेपाली कांग्रेसभित्रको एकता, सौहार्दता तथा स्वच्छ प्रतिस्पर्धा हराउँदै गइरहेको छ। बिस्तारै नेपाली कांग्रेस कम्युनिस्ट पार्टीजस्तो बन्दै गइरहेकोले म चिन्तित छु।’


