काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मदन–आश्रित दिवसले टुक्रिएका सबै कम्युनिस्टबीच सहकार्यका लागि हौसला दिने बताएका छन्। ३०औं मदन–आश्रित स्मृति दिवस अवसरमा शुभकामना सन्देश दिँदै प्रधानमन्त्री प्रचण्डले वामपन्थी शक्ति एकै ठाउँ आउनुपर्ने धारणा व्यक्त गरेका हुन्।
उनले भने, ‘आज ३०औं मदन–आश्रित स्मृति दिवस। रहस्यमय दासढुंगा दुर्घटनामा परी दिवंगत वामपन्थी आन्दोलनका मूर्धन्य व्यक्तित्व मदन भण्डारी र जीवराज आश्रितप्रति भावपूर्ण श्रद्धासुमन व्यक्त गर्दछु। यो दिनले टुक्रिएका कम्युनिस्टबीच सहकार्य र एकताका निम्ति प्रेरणा दिने विश्वास व्यक्त गर्दछु।’
एमालेका तत्कालीन महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको चितवनको दासढुंगामा दुर्घटनामा परी मृत्यु भएको थियो।
सुरुमा एमालेले यसलाई राजनीतिक नारा बनाएकै कारण सत्तारुढ हुन पुगेको थियो। मदन–आश्रितको मृत्यु कालगति वा भवितव्य केले भएको हो,अहिलेसम्म रहस्य खुलेको छैन।


