पोखरा- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित ३१ जनाविरुद्ध जिल्ला अदालत कास्कीमा मुद्दा दर्ता भएको छ। पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा जिल्ला सरकारी वकिलको कार्यालय कास्कीले ३ वटा कसुरमा मुद्दा दर्ता गराएको हो।
लामिछानेसहित पूर्वडीआईजी छविलाल जोशी, लिला पछाई, रामबहादुर खनाल र कृष्णबहादुर गुरूङविरूद्ध सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा मुद्दा दर्ता भएको छ।
कास्की जिल्ला अदालतका निमित्त श्रेस्तेदार ख्यामनारायण लामिछानेका अनुसार विभिन्न ८ वटा कम्पनीविरुद्ध पनि मुद्दा दर्ता भएको छ। त्यस्तै ५ जनाको सम्पत्ति जफत गर्नुपर्ने सरकारी वकिलको कार्यालयको राय छ।
प्रहरीले लामिछानेसहित ५१ जनाबाट डेढ अर्ब रूपैयाँ बिगो असुल्नुपर्ने र सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणमा मुद्दा चलाउनुपर्ने राय दिएको थियो।
लामिछानेका हकमा सहकारी ठगीमा ४ देखि ६ वर्षसम्म कैद, संगठित अपराधमा थप ५० प्रतिशत सजाय र सम्पत्ति शुद्धीकरणमा २ देखि १५ वर्ष कैद र बिगोको दोब्बर जरिवाना लगाउनुपर्ने राय प्रहरी अनुसन्धान प्रतिवेदनमा उल्लेख छ।
गोर्खा मिडिया प्रालिका अध्यक्ष गितेन्द्र बाबु (जीबी) राईसहित १९ जनाविरुद्ध पुस ५ गते मुद्दा दर्ता भएको थियो। उनीहरूविरुद्ध पूरक अभियोजन गरिएको छ।
यो प्रकरणमा अनुसन्धानका लागि कात्तिक २ गते रास्वपाको केन्द्रीय कार्यालयबाट लामिछाने पक्राउ परेका थिए। अदालतमा मुद्दा दर्ता भएसँगै रवि ‘आरोपित’बाट ‘अभियुक्त’ बनेका छन्। कुनै पनि फौजदारी कसुरको अभियोग लागेपछि अदालतमा मुद्दा दर्ता भइसकेकेको अवस्थामा प्रतिवादीलाई ‘अभियुक्त’ भन्ने गरिन्छ।


