काठमाडौँ- सर्वोच्च अदालत बार एसोसिएनको नेतृत्व चयनका लागि हुन लागेको निर्वाचनमा अनौठो गठबन्धन हुने भएको छ।
सर्वोच्च बारको अध्यक्ष पद हात पार्न एमाले, माओवादी, रास्वपा र राप्रपाले गठबन्धन बनाएका छन्। यो गठबन्धनले अध्यक्ष पदमा वरिष्ठ अधिवक्ता महेशकुमार थापालाई उम्मेदवार बनाएको छ।
कांग्रेसले भने नेकपा समाजवादीको समर्थन पाएको छ। यो मोर्चाबाट वरिष्ठ अधिवक्ता मेघराज पोखरेल उम्मेदवार छन्।
यस्तै अधिवक्ता प्रेमसिंह धामीले पनि सर्वोच्च बारको अध्यक्ष बन्नका लागि उम्मेदवारी दर्ता गराएको निर्वाचन समितिले जानकारी दिएको छ।
उपाध्यक्षमा अम्बरबहादुर राउत, भीष्मराज कडरिया र उत्तमबहादुर श्रेष्ठले मनोनयन दर्ता गराएका छन्।
सचिव पदका लागि रमणकुमार कर्ण, पुष्पराज पौडेल र प्रभाकर श्रेष्ठले दाबी पेस गरेका छन्।
सहसचिव (महिलामा) पुनदेवी महर्जन र श्रुतिकुमारी रेग्मीको उम्मेदवारी परेको छ। कोषाध्यक्षमा रामचन्द्र पौडेल, अनन्तराज लुइँटेल र रामहरि त्रिपाठीको उम्मेदवारी परेको छ।
सदस्य (महिला) मा शशि बस्नेत र सुधा धितालबीच प्रतिस्पर्धा हुने भएको छ। बाँकी ९ सदस्य पदका लागि १९ जना चुनावी मैदानमा उत्रिएका छन्। मतदान पुस २० गते हुनेछ।





