काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को कार्यवाहक सभापतिको जिम्मेवारी डीपी अर्यालले पाएका छन्। रास्वपाको आइतबार बसेको सचिवालय बैठकले कार्यवाहक सभापतिको जिम्मेवारी अर्याललाई दिने निर्णय गरेको हो।
सभापति रवि लामिछानेविरुद्ध सम्पत्ति शुद्धीकरणलगायतका अभियोगमा अदालतमा मुद्दा दर्ता भएपछि रास्वपाले कार्यवाहक सभापतिमा अर्याललाई जिम्मेवारी दिएको हो।
विभिन्न स्थानमा भएका नेताहरू अनलाइनमार्फत बैठकमा बसिरहेका छन्।
लामिछानेविरुद्ध सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरमा जिल्ला अदालत कास्कीमा आइतबार मुद्दा दर्ता भएको छ। लामिछाने कात्तिक २ गते पक्राउ परेका थिए।
आइतबारै लामिछानेविरूद्ध कास्की अदालतमा सम्पत्ति शुद्धीरणको कसुरमा मुद्दा दर्ता भएकाले उनलाई सांसदबाट निलम्बन गर्नका लागि कास्की प्रहरीले सभामुखलाई पत्र पठाएको छ।
यसलगत्तै रास्वपा सांसदहरूले सोमबार सभामुख देवराज घिमिरेसँगको भेट गरी उनलाई निलम्बन गर्न नहुने तर्क राखेका थिए।
सभामुख घिमिरेसँग रास्वपा सांसदले भेट गरे लगत्तै आकस्मिक रूपमा सचिवालय बैठक बोलाएर डीपीलाई कार्यवाहक सभापतिको जिम्मेवारी दिइएको हो। रास्वपा विधानमा ज्येष्ठ उपसभापति वा सभापतिले तोकेको व्यक्तिले कार्यवाहक सभापतिको जिम्मेवार पाउने उल्लेख छ।
अर्यालभन्दा अर्का उपसभापति डा स्वर्णिम वाग्ले केही जेठा छन्। तर सभापति लामिछानेसँगको परामर्शमा अर्यालले कार्यवाहकको जिम्मेवारी पाएको बताइएको छ।


