काठमाडौँ– इसेवाको सिस्टम ह्याक गरी रकम चोरी भएको समाचारमा कुनै सत्यता नरहेको कम्पनीले दावी गरेको छ।
इसेवा प्रयोगकर्तामा त्रास र भ्रम सिर्जना गर्न त्यस्ता समाचार प्रकाशन गरिएको तर इसेवाको सिस्टममा कुनै समस्या नरहेको कसैले पनि अनधिकृत पहुँच नपुर्याएको ईसेवाले दाबी गरेको हो।
‘पछिल्ला केही दिनदेखि सामाजिक सञ्जालहरू तथा केहि समाचार पोर्टलहरूमा इसेवाबाट रकम चोरी भएको तथा इसेवामा रकम असुरक्षित रहेको जस्ता भ्रामक र आधारहीन समाचारहरू प्रकाशित भइरहेकोले त्यस्ता समाचारहरुको पछि नलाग्न समस्त ग्राहक तथा प्रयोगकर्तालाई अनुरोध गर्दछौं,’ इसेवाले जारी गरेको विज्ञप्तिमा लेखिएको छ।
इसेवाको १६ वर्षको इतिहासमा इसेवाले आफ्नो सिस्टममा सुरक्षा प्रणालीलाई लिएर कुनै कमी नराखेको दावी गर्दै इसेवा लगायतका नेपालका कुनै पनि डिजिटल वालेट कम्पनीहरूले ग्राहकहरु तथा मर्चेन्टहरुको रकम आफ्नो कम्पनी वा कम्पनीको कुनै मातहतमा राख्न पाउने व्यवस्था नरहेको स्मरण गराइएको छ।
‘भुक्तानी तथा फर्स्योट ऐन, २०७५ अनुसार इसेवाजस्ता डिजिटल वालेटहरुको कुनै ‘क’ वर्गको वाणिज्य बैंकमा सेटलमेन्ट खातामा हुनु पर्ने प्रावधान रहेको छ,’ कम्पनीले भनेको छ, ‘सोही प्रावधान अनुसार प्रयोगकर्ताहरुको रकम डिजिटल वालेटमा नभएर उक्त सेटलमेन्ट बैंक खातामा जम्मा हुन्छ।’
यस प्रणालीले ग्राहकको रकमको दुरुपयोग हुन वा कुनै पनि प्रकारको अनधिकृत पहुँचबाट सुरक्षित राख्ने कम्पनीले जनाएको छ।
तर सामजिक सञ्जालहरूमा भ्रम सिर्जना गर्ने उद्देश्यले उक्त खबर प्रकाशन गरिएको उसको भनाइ छ।


