काठमाडौँ- आरोही कामीरिता शेर्पाले आफ्नै रेकर्ड तोडेर २७औं पटक सगरमाथाको चुचुरोमा पुगेका छन्। सेभेन समिट ट्रेक्सका म्यानेजर थानेश्वर गुरगाईंका अनुसार बुधबार बिहान साढे ८ बजे शेर्पा २७औं पटक सगरमाथाको चुचुरोमा पुगेका हुन्।
यसअघि २६ पटक सगरमाथाको आरोहण गरिसकेका कामीरिताले विदेशी नागरिकसँगै सगरमाथाको आरोहण गरेका हुन्। सोलुखुम्बुको थामे गाउँमा जन्मिएका शेर्पाले १३ मे १९९४ मा पहिलो पटक सगरमाथा चुचुरोमा पुगेका थिए।
सन् २०१८ देखि कामीरिताले आफैँले बनाएका रेकर्ड तोड्दै आएका हुन्। उनले ८ हजार मिटरभन्दा अग्ला हिमाल ३९ पटक आरोहण गरेको कीर्तिमान गिनिजबुकमा दर्ज भइसकेको छ।
खुम्बु पासाङल्हामु गाउपालिकाको थामेका ५३ वर्षीय शेर्पाले सबैभन्दा धेरै पटक सगरमाथा आरोहण गरेका छन् भने ८ पटक चोयु, ३ पटक मनास्लु, ल्होत्स र केटु एकएक पटक गरी ८ हजार मिटरभन्दा अग्ला हिमाल ३९ पटक आरोहण गरेका हुन्।
शेर्पाले यसअघि तीन सिजनमा दुई–दुई पटक सगरमाथा आरोहण गरेका थिए। शेर्पाले चुचुरोसम्म डोरी टाँग्ने जिम्मेवारी पनि पाएकाले सन् २००९, २०१० र २०१३ मा एकै याममा दुई पटक सगरमाथा चढेका थिए।


