पोखरा- राष्ट्रिय स्वतन्त्र पार्टीले सभापति रवि लामिछानेको मुद्दा प्रक्रियामा अदालतलाई सघाउने बताएको छ। उसले आफूहरूले सहयोग गर्ने भन्दै कास्कीमा लगाइएको निषेधित क्षेत्र हटाउनसमेत माग गरेका छन्।
रास्वपाको टोलीले कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेलाई भेटेर यस्तो आग्रह गर्दै ज्ञापनपत्र नै बुझाएको हो।
अंग्रेजी नयाँ वर्ष र पोखरामा हुने महोत्सवलाईसमेत ख्याल गर्दै निषेधित क्षेत्र हटाउन माग गरिएको उल्लेख गरेको छ।
रवि लामिछानेलाई कात्तिक २ गते काठमाडौंमा पक्राउ गरी ४ गते कास्की जिल्ला अदालतमा उपस्थित गराएसँगै रास्वपाले पोखरामा दिनहुँजसो प्रदर्शन गर्दै आएको थियो।
रास्वपाले प्रदर्शन थालेपछि जिल्ला प्रशासन कार्यालय कास्कीले पोखरामा निषेधित क्षेत्र घोषणा गरेको थियो।
‘सभापति लामिछाने विरुद्ध लगाइएको अभियोगको हकमा अदालती प्रक्रियालाई पूर्ण रुपमा सघाउने पार्टी सचिवालयको पुस ८, २०८१ को निर्णय समेतका आधारमा निषेधित क्षेत्र हटाउनका लागि अनुरोध छ,’ रास्वपाले पठाएको पत्रमा उल्लेख छ।



