काठमाडौँ- संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले मध्यपुर थिमि नगरपालिकाले संस्कृतिलाई कहिलै नासिन नदिने विश्वास व्यक्त गरेका छन्।
मध्यपुर थिमि नगरपालिकाले आयोजना गरेको मध्यपुर महोत्सवको समापन समारोहलाई सम्बोधन गर्दै मध्यपुर थिमि नगरपालिकाले संस्कृतिलाई कहिल्यै नासिन नदिने विश्वास व्यक्त गरेका हुन्।
महोत्सवको अवलोकन गर्दै मन्त्री पाण्डेले देशभर गरिने महोत्सवले पनि यो महोत्सवबाट सिक्नु पर्ने बताए।
‘भौगोलिक रुपमा सानो नगरपालिका भए पनि यो नगरले विशाल संस्कृतिको संरक्षण गरेको छ। महोत्सवमा प्रस्तुत गरिएका हरेक कुरालाई हेर्दा यो महोत्सव नभएर खुला संग्रहालय जस्तो छ,’ महोत्सवको प्रशंसा गर्दै मन्त्री पाण्डेले थपे, ‘यो महोत्सवबाट देशका अरु ठाउँमा आयोजना हुने महोत्सवले पनि सिक्न जरुरी छ।’
यस्तै मन्त्री पाण्डेले हाम्रो संस्कृति र जीवनपद्धति कसरी हुर्काएका थिए भन्ने समेत यो महोत्सवले प्रष्ट पारेको उनको भनाइ थियो।
तीन दिनसम्म संचालन भएको महोत्सव ५ लाखभन्दा बढीले अवलोकन गरेका थिए।
महोत्सवमा स्थानीय उत्पादन मात्र प्रदर्शन तथा बिक्री वितरण गरिएको थियो।


