पोखरा– निजी क्षेत्रको सञ्चार सेवा प्रदायक संस्था एनसेलले आफूहरूले कर नतिर्ने कुरा नगरेको तर आफूहरूलाई बदनाम गर्ने काम पनि नरोकिएको गुनासो गरेको छ।
नेपाल दूरसञ्चार प्राधिकरणले पोखरामा आयोजना गरेको ‘गण्डकी प्रदेशमा दूरसञ्चार सेवाको वर्तमान अवस्था, गुणस्तर र चुनौती’ विषयक अन्तरक्रिया कार्यक्रममा एनसेलका नियामक मामिला अधिकृत विशालमणि उपाध्यायले यस्तो बताएका हुन्।
कति कर तिर्नुपर्ने भन्ने कुरा पनि आफूहरूलाई नभनिदिने तर बदनाम गराउन भने नछोडिएको उपाध्यायको भनाइ थियो।
‘एनसेलले कुन शीर्षकमा के कति कर तिर्न पर्ने हो त्यो भनिदिए तिर्छौँ। कर तिरेन, कर तिरेन भनेर हाम्रो बदनाम गर्ने काम भइरहेको छ,’ उनले भने।
कर नतिरेको भने सधैँ हल्ला मात्रै गराउने काम भइरहेको भन्दै उनले असन्तुष्टि पोखेका थिए। ‘नेताहरुले आफ्ना कार्यकर्तालाई किन आन्दोलन गर्न लगाउने? यस्तै अवस्था सृजना भइरहने हो भने सञ्चार क्षेत्र धराशायी हुन्छ,’ उपाध्यायको भनाइ थियो।
कार्यक्रममा नेपाल दूरसञ्चार प्राधिकरणका निर्देशक अर्जुन घिमिरे, नेपाल टेलिकमका निर्देशक यादव र एनसेलका नियामक मामिला अधिकृत विशालमणि उधाध्यायले आ-आफ्ना कार्यालयमार्फत भइरहेका कार्य, आएका समस्या, समस्या समाधानका लागि गरिएका प्रयास तथा आगामी कार्ययोजनाबारे प्रस्तुति गरेका थिए।
कार्यक्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं नेपाल सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङ, गण्डकी प्रदेशका ऊर्जा, जलस्रोत तथा खानेपानीमन्त्री फणीन्द्र देवकोटा, दूरसञ्चार प्राधिकरणका अध्यक्ष भुपेन्द्र भण्डारी गाउँपालिका महासंघ गण्डकीका अध्यक्ष नवराज ओझालगायतको उपस्थिति थियो।


