चितवन – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीलाई नेताकेन्द्रित नभई समुदाय केन्द्रित बनाउनुपर्नेमा जोड दिएका छन्।
प्राडा. यज्ञप्रसाद अधिकारीको जीवन संघर्षबारे लेखिएका लेखहरूको सङ्ग्रह ‘लोकतान्त्रिक समाजवादका भास्यकार प्राडा यज्ञप्रसाद अधिकारी’ नामक पुस्तकको आज चितवनमा विमोचनका क्रममा उनले राजनीतिक दलहरू समाज केन्द्रित हुनुपर्ने समय आएको बताए।
उनले भने, ‘जीवनभर कांग्रेसमा काम गरेका नेताहरूको आशीर्वाद लिँदै सामाजिक क्षेत्रमा लाग्नुपर्ने समय आएको छ।’ कांग्रेसका पुराना पुस्ताको सम्मान गर्दै समाज केन्द्रित हुन सकेमा युवापुस्ताको आकर्षण बढ्ने उनले बताए।
कार्यक्रममा नेपाली कांग्रेसका पूर्व केन्द्रीय सदस्य गुरूराज घिमिरेले प्राडा अधिकारीले जीवनमा देश र पार्टीका लागि पुर्याएको योगदानको चर्चा गरे।
त्यस अवसरमा अधिकारीका भाइ प्रकाश अधिकारीले आफ्नो दाजुले लोकतान्त्रिक समाजवादका लागि प्राज्ञिक क्षेत्रबाट पुर्याएको योगदान र उनको जीवनीका बारेमा जानकारी गराए।


