विराटनगर- सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलले स्वकीय सचिव अनिलकुमार पोखरेल बर्खास्तीमा परेका छन्। एमबीबीएस प्रवेश परीक्षामा नाम निकालिदिने भन्दै ३८ लाख रुपैयाँ ठगी गरेको आरोप लागेपछि अनिललाई पदबाट हटाएका हुन्।
सांसद पोखरेलले विज्ञप्ति जारी गर्दै आफ्ना स्वकीयलाई हटाएको जानकारी गराएका छन्।
‘मेरो स्वकीय सचिवको रूपमा कार्यरत अनिल कुमार पोखरेललाई उच्च अदालत मोरङबाट पक्राउ पुर्जी जारी भएको भन्ने विभिन्न मिडियामा प्रकाशित समाचार प्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ,’ उनको विज्ञप्तिमा उल्लेख छ, ‘निज माथि लगाएका विभिन्न आरोपहरूको अनुसन्धानमा सहयोग पुगोस् भन्ने उद्देश्यका साथ मेरो स्वकीय सचिवको जिम्मेवारीबाट आजैको मितिदेखि लागु हुनेगरी निष्कासन गरेको व्यहोरा अनुरोध गर्दछु।’
स्वकीय सचिव पोखरेलले एमबीबीएसमा नाम निकाल्दिने भन्दै ३८ लाख ८० हजार लिएर ठगी गरेको आरोप लागेको छ। पोखरेलमाथि ठगी मुद्दामा अनुसन्धान गर्न उच्च अदालत विराटनगरले परमादेश जारी गरिसकेको छ।
लेखा समितिका सभापति पोखरेलकी श्रीमती अञ्जला कोइरालापछि उनका स्वकीय सचिवमाथि पनि ठगीको आरोप लागेको हो। सहकारी ठगीमा अञ्जलालाई पक्राउ गर्न मोरङ जिल्ला अदालतले पुर्जी जारी गरिसकेको छ। तर कोइराला भने हालसम्म फरार छिन्। उनी मोरङको एक विद्यालयमा शिक्षिका भएपनि पक्राउ पुर्जी जारी भएपछि विद्यालयमा हाजिर भएकी छैनन्।



