काठमाडौँ- नेपाली कांग्रेसले चैत मसान्तभित्र पुरानो क्रियाशील सदस्यता नवीकरण टुंगो लगाउने निर्णय गरेको छ। शुक्रबार बसेको महामन्त्री गगन थापाको नेतृत्वको सदस्यता समितिको बैठकले यस्तो निर्णय लिएको हो।
बैठकले कार्यतालिका बनाएर चैत मसान्तभित्र पुरानो क्रियाशील सदस्यता नवीकरण टुंगो लगाउने निर्णय समितिका सदस्यले प्रकाश स्नेही रसाइलीले जानकारी दिए।
क्रियाशील सदस्यता वैधानिक र वैज्ञानिक बनाउन जातजाति जनसंख्या र पार्टीको मत संख्याको आधारमा विज्ञहरूको समेत सुझाव लिनेसमेत बैठकको निर्णय छ।
नयाँ क्रियाशील सदस्यता वितरण गर्नका लागि वैज्ञानिक बाटो अवलम्बन गर्ने निर्णयसमेत समितिले गरेको छ। दलित, जनजाति, महिला, मुस्लिमलाई क्रियाशीलता सदस्यता लिन प्रोत्साहन गर्ने निर्णय भएको उनले जानकारी दिए।
कांग्रेसमा महामन्त्री गगन थापाको संयोजकत्वमा केन्द्रीय सदस्यहरू सीता गुरूङ, योगेन्द्र चौधरी र प्रकाश रसाइली (स्नेही) सदस्य रहेको क्रियाशील सदस्यता व्यवस्थापन समिति बनाइएको छ।
कांग्रेसले १५औं महाधिवेशनका लागि प्रारम्भिक काम क्रियाशील सदस्यता नवीकरणको काम थालनी गरेको छ।


