काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अब सबै केन्द्रीय सदस्यले सम्पत्ति विवरण बुझाउनुपर्ने प्रस्ताव गरेका छन्।
आगामी फागुन १ भित्र सबै केन्द्रीय सदस्यले आफू र परिवारको सम्पत्ति विवरण पार्टीमा बुझाउनुपर्ने र जीवननिर्वाहको स्रोत खुलाउनुपर्ने उनले प्रस्ताव गरेका हुन्। माओवादी केन्द्रमा ४०९ पूर्ण केन्द्रीय सदस्य र २०५ वैकल्पिक केन्द्रीय सदस्य छन्।
त्यस्तै अध्यक्ष प्रचण्डले संविधानसभाबाट संविधान निर्माण गर्ने क्रममा आफ्नो पार्टीले राखेको फरक मतलाई नै संविधान संशोधनको विषय बनाउने बताए।
पार्टी केन्द्रीय समितिको आज भएको विस्तारित बैठकमा उनले जातीय क्षेत्रीय मोर्चालाई सक्रिय पार्ने बताए। ‘पहिचानका मुद्दा ओझेलमा पर्न गएकामा आत्मालोचनासहित उत्पीडित वर्गमा जानुपर्छ, जातीय क्षेत्रीय मोर्चालाई सक्रिय बनाएर लैजानुपर्छ।’
आगामी माघसम्ममा सबै स्थानीय सम्मेलन गर्ने तथा पार्टीका संघ र प्रदेश सांसदको भूमिकालाई अझ प्रभावकारी बनाउन उनले निर्देशन दिए। अध्यक्ष दाहालले पार्टीका मधेससँग सम्बन्धित समस्या हल गर्दै ‘मिसन २०८४ अभियान’ कार्यान्वयनमा जोड दिए।


