काठमाडौँ- पर्यटनसँग सम्बद्ध विभिन्न संघसस्थाले नेपालको पर्यटन विकास र विस्तारको लागि नेपाल वायुसेवा निगमको स्तरोन्नति गरी मुख्य स्रोत बजारमा सेवा विस्तार गर्न सुझाव दिएका छन्।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेसँगको छलफलमा पर्यटन सम्बद्ध विभिन्न संघसस्थाका प्रतिनिधिले नेपालको पर्यटन विकास र विस्तारको लागि नेपाल वायुसेवा निगमको स्तरोन्नतिसहित मुख्य स्रोत बजारमा सेवा विस्तार गर्न सुझाव दिएका हुन्।
यस्तै नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) लाई सेवा प्रदायक र नियामक निकायका रुपमा विभाजन गर्ने विधेयक मन्त्रिपरिषदबाट स्वीकृत भएकोमा समेत मन्त्री पाण्डेलाई धन्यवाद व्यक्त गरे।
यो विधेयक संसदले पास गरे युरोपबाट नेपालमा पर्यटनको वृद्धि हुने उनीहरुको भनाइ थियो। पर्यटनको विकासकालागि पर्यटन बोर्ड मार्फत अन्तर्राष्ट्रिय बजारमा आक्रमक प्रवर्द्धन पनि सुझाव दिएका छन्।
यस्तै लुक्लामा हेलिकोप्टर उडानमा भएको समस्याले समेत पर्यटनमा समस्या हुने भनाइ थियो। छलफलमा मन्त्री पाण्डेले पर्यटन क्षेत्रमा देखिएका समस्या समाधान गर्ने प्रतिबद्धता व्यक्त गर्दै नीतिगत सुधारमा सहयोग गर्न समेत आग्रह गरेका थिए। हरेक महिना यस्ता छलफल गर्नेसमेत सहमति भएको छ।


