हेटौँडा – नेतालाई मात्र गाली गरेर मुलुकको विकास नहुने बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले बताएका छन्।
मकवानपुर उद्योग वाणिज्य संघको ५८औं वार्षिक साधारणसभालाई सम्बोधन गर्ने क्रममा उनले नेपालको राजनीतिदेखि सबै क्षेत्रमा सुधार जरुरी रहेको औंल्याएका हुन्।
‘नेतालाई गाली गरेर मात्रै देशको विकास हुँदैन। सरकारले सुधार्नुपर्ने कुरा सुधारका लागि तयार छौं। ठूलो कुरा गरेर मात्र हुँदैन, काम गर्नुपर्छ,’ उनले भने, ‘सबै क्षेत्रमा रहेका व्यक्ति जिम्मेवार हुने हो भने मुलुकको विकास सम्भव छ।’ नेपालमा भ्रष्टाचार नियन्त्रणका लागि नेतादेखि सर्वसाधारणसम्मको सम्पति अद्यावधिक गर्नुपर्नेमा मुख्यमन्त्री लामाले जोड दिए।
उद्योग क्षेत्र फस्टाएमा मात्र मुलुकमा रोजगारीको अवस्था सृजना हुनसक्ने भन्दै उनले नेपालमा लगानीमैत्री वातावरण बनाउन जरुरी रहेको औंल्याए।
‘अझै उद्योग र यससँग सम्बन्धित धेरै ऐन कानुन बनाउन आवश्यक छ। उद्योगी व्यवसायीको हकहितमा के कस्ता कानुन बनाउनुपर्ने हो सल्लाह गरौं, हामी सल्लाह सुझावलाई मननन् गर्दै अघि बढ्न तयार छौं,’ उनले भने।
नेपालभन्दा कमजोर मुलुकले विकासमा फड्को मारिसकेको भन्दै उनले यहाँ उत्पादन भएको भन्दा बाहिरबाट ल्याएको सामान सस्तो हुने अवस्थाको अन्त्य हुनुपर्ने बताए।


