चितवन – चितवनका दुग्ध उत्पादक सहकारीले बिक्री भएको दूधको भुक्तानी नपाउँदा किसानलाई रकम भुक्तानी गर्न सकेका छैनन्। साउनयताको ८० करोड दुग्ध विकास संस्थान (डिडिसी) र निजी संस्थाहरूले भुक्तानी नदिँदा यहाँका दुग्ध उत्पादक सहकारी संस्था र किसान समस्यामा परका हुन्।
चितवन जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घका अध्यक्ष किशोर बगालेका अनुसार साउनयता जिल्लामा रहेका एक सय १५ वटा दुग्ध उत्पादक सहकारीले रकम भुक्तानी पाउन नसकेका हुन्। जिल्लामा रहेका सहकारीहरूले रकम नपाएपछि दूध उत्पादन गर्ने किसानलाई रकम भुक्तानी गर्न कठिन हुन थालेको उनले बताए।
बगालले भने, ‘दूधको रकम भुक्तानीका लागि निजी संस्था र डिडिसीले एक महिनाको समय माग गरेका छन्। त्यतिबेलासम्म पनि रकम आउने नआउने निश्चित छैन।’ उनले सर्वोच्च अदालतमा मुद्दा दर्ता भएपछि गत ९ गते एक महिनाभित्र रकम भुक्तानी गरिसक्ने सहमति भएको जानकारी दिए।
भुक्तानी नपाए माघ १० गतेपछि आन्दोलनमा जाने तयारीमा सङ्घ रहेको उनले चेतावनी पनि दिए। अध्यक्ष बगालेका अनुसार डिडिसीले ३५ करोड र अन्य रकम निजी संस्थाहरूले भुक्तानी गर्नुपर्ने छ। दूधको रकम भुक्तानी नपाए पनि यहाँ उत्पादित दूध भने खपत भइरहेको उनले बताए।
जिल्लामा दैनिक तीन लाख ५० हजार लिटर दूध उत्पादन हुँदै आएको छ। जसमा ५० प्रतिशत दूध जिल्लामा खपत हुने गरेको र ५० प्रतिशत दूध जिल्ला बाहिर जाने गरेको गरेको छ। यहाँको दूध काठमाडौँ, पोखरालगायत जिल्लामा जाने गरेको छ।
जाडो समयमा दूध उत्पादनअनुसार खपत नहुँदा नियमित रूपमा पाउडर बनाएर राख्ने गरिएको उनले बताए। अहिले दैनिक ३० देखि ४० हजार लिटर दूध पाउडर उत्पादनका लागि जाने गरेको छ। गर्मी समयमा दही, बिस्कुटलगायत वस्तुमा प्रयोग गर्न सहज हुने र वर्षातको समयमा दूधको अभाव पूरा गर्न अहिले केही दूधको पाउडर बनाएर राख्ने गरिएको उनले जानकारी दिए।


