कास्की- जिल्ला अदालत कास्कीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वउपप्रधानमन्त्री रवि लामिछानेलाई ६५ लाख धरौटीमा छाड्न आदेश दिएकाे छ।
कास्की जिल्ला अदालतका न्यायाधीश नीतिज राईको इजलासले रविलाई धरौटीमा छाड्न आदेश दिएको हो।
पूर्वगृहमन्त्रीसमेत रहेका लामिछानेले अब अदालतले तोकेको धरौटी बुझाएर रिहा हुनेछन्।
पूर्वगृहमन्त्रीसमेत रहेका लामिछानेलगायत ६३ जनाविरुद्ध सरकारी वकिल कार्यालय कास्कीले एक अर्ब ५१ करोड बिगो माग दावीसहित ५ पुसमा थप र ७ पुसमा पुरक अभियोजनपत्र जिल्ला अदालतमा दर्ता गराएको थियो।
लामिछानेविरुद्ध सहकारी ठगी, सम्पत्ति शुद्धीकरण र संगठित अपरोधको अभियोगमा मुद्दा दायर भएको छ। सोही मुद्दामा बहसपछि आदेश आएको हो।
सरकारी वकिल कार्यालय कास्कीले १ अर्ब ५१ करोड बिगो माग गर्दै पुस ५ गते र ७ गते पुरक अभियोजन गरेको थियो।
लामिछानेमाथि सम्पत्ति शुद्धीकरणमा २७ करोड ८९ लाख ४४ हजार सात सय रुपैयाँ बिगो मागदाबी गरिएको थियो। सहकारी ठगीतर्फ लामिछानेलाई ३ करोड ३७ लाख ६५ हजार बिगो कायम गरिएको थियो।
गोर्खा मिडिया नेटवर्कमा रवि लामिछाने र जीबी राईका व्यापारिक साझेदार जोशीविरुद्ध ५ करोड २६ लाख ६५ हजार बिगो कायम गरिएको थियो।
पूर्वराष्ट्रपति नन्दकिशोर पुनका छोरा दीपेश पुनसँग २ करोड १४ लाख ८ हजार ८४३ रुपैयाँ बिगो माग गरिएको थियो। यस्तै लामिछानेसँगै खनाल, जोशी र पछाइविरुद्ध सम्पत्ति शुद्धीकरणमा पनि मुद्दा दायर गरिएको थियो।
सूर्यदर्शन सहकारीबाट १ अर्ब ५१ करोड भन्दा बढी रकम बिगो अपचलन भएको अनुसन्धानले देखाएको थियो।
काठमाडौँको स्वर्णलक्ष्मी सहकारी ठगीको अभियोगमा पनि जीबी, रवि र छविलगायतविरुद्ध काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर भएको छ। १ अर्ब १९ करोड ९५ लाख रुपैयाँ अनियमितता गरेको आरोपमा गोर्खा मिडिया प्रालिका तत्कालीन सञ्चालक समिति सदस्य लामिछाने र छविलाल जोशीसहित, स्वर्णलक्ष्मी सहकारीका अध्यक्ष गितेन्द्रबाबु (जिबी) राई, उपाध्यक्ष देवेन्द्रबाबु राई, कोषाध्यक्ष कुमार रम्तेल, सचिव इरान लामा, सहसचिव कविता तामाङ, सदस्य हमेन्त अधिकारी, रविना रिमाल, पूर्वअध्यक्ष दिपक लामाविरुद्ध मुद्दा दर्ता भएको छ।
यसैगरी, पूर्वकोषाध्यक्ष सविना आले मगर, सदस्य भक्तबहादुर भोलन, सविता लामा, पूर्वसचिव प्रदीप लामा, लेखा संयोजक गणेशराज श्रेष्ठ, पूर्वलेखा समिति सदस्य सुनिता नेवा, पूर्वसदस्य शान्तिकुमारी सुवेदी, कर्जा उपसमिति सदस्य रोमन काफ्ले, कमल लामा, व्यवस्थापक नविन अछामी, पूर्वअध्यक्ष कल्पना कुमारी श्रेष्ठ, पूर्वसञ्चालक समिति सदस्य राजु बरालविरुद्ध पनि मुद्दा दर्ता भएको छ।
जिबी ग्रुप अफ कम्पनिजका सञ्चालक विशाल तामाङ, असरफ अली सिद्धिकी, नेचर नेष्ट प्रा.लि.का सञ्चालक अनन्त बाबु राई, खिमानन्द कँडेल, बल्लभ नेपाल, निर्देशक गोकुल श्रेष्ठ, देव दीप एग्रिकल्पचर एण्ड एनिमल हस्वेण्ड्री फार्मका सञ्चालक भुपेन्द्र राई, भवती बालुवाखानी प्रा.लि.का सञ्चालक मुखिया कान्छा गुरुङविरुद्ध पनि मुद्दा दायर गरिएको अभियोगपत्रमा उल्लेख छ।
यसैगरी, गोर्खा हर्वल प्रोडक्सन प्रा.लि.का सञ्चालक जनक भट्टराई, स्पीङ उड रियलस्टेट प्रा.लि.का सञ्चालक भगवती बम्जन, न्यू सुलक्स अफसेट प्रिन्टर्सका सञ्चालक देवकुमार तामाङ, गोर्खा ग्रुप अफ कम्पनीका सञ्चालक शिवप्रसाद पौडेल, वीरबहादुर रानाभाट, सारेगामा रेकर्ड प्रालिका सञ्चालक किरण पुडासाईं, गोरखा ग्रुप अफ कम्पनीका शेयरधनी पुष्पराज पौडेल र सुपर सिटी इन्टरप्राइजेजका शेयर सदस्य कृष्णबहादुर पोखरेल प्रतिवादी छन्।
यसैगरी, रवि र छविलगायतमाथि रुपन्देही, चितवन र पर्सामा पनि प्रहरीले अनुसन्धान गरिरहेको छ। त्यहाँ पनि उनीहरूविरुद्ध सहकारी ठगीमा मुद्दा लैजाने तयारी सम्बन्धित जिल्लाका सरकारी वकिलको कार्यालयहरूको तयारी छ।


