हेटौँडा- मकवानपुर गढीको अलग्गै इतिहास छ। यहाँको दरबारलाई राजा पृथ्वीनारायण शाहको ‘ससुराली घर’का रुपमा इतिहासकारहरुले व्याख्या गरेका छन्।
हेमकर्ण सेनको समयमा गोरखाका राजा पृथ्वीनारायण शाहसँग मकवानपुरको सम्बन्ध गासिएको र हेमकर्णले आफ्नी छोरी पृथ्वीनारायण शाहलाई दिएको इतिहासमा उल्लेख छ।
नेपाल एकीकरणका बेला मकवानपुर गढीमा युद्ध जित्न गाह्रो हुने भएपछि नै पृथ्वीनारायण शाहले चलाखीपूर्वक ज्वाइँको सम्बन्ध गाँसेका थिए। उनले बिवाहमार्फत नै मकवानपुरको सुरक्षा व्यवस्थाका रहस्यहरु बुझेको बताइन्छ। ऐतिहासिक, पुरातात्वक र सामरिक दृष्टिले महत्त्वपूर्ण रहेको मकवानपुर गढी यतिबेला पर्यटकहरुको रोजाइमा छ।
मकवानपुर गढी गाउँपालिका–२ मा अवस्थित उक्त गढी किल्लाभित्र रहेका दरबार, मन्दिर र पर्खालहरू जीर्णोद्धार गरेर चिरिच्याट्ट पारेपछि उक्त ठाउँको महत्व झल्किएको छ। अग्लो डाँडामा रहेको गढीबाट अवलोकन गर्न सकिने प्राकृतिक दृश्यहरु पर्यटकलाई लोभ्याउने गरेको छ।
संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यन मन्त्रालयले प्रवद्र्धन गर्नुपर्ने नयाँ सय वटा पर्यटकीय गन्तव्यमा समेटेको उक्त गढीमा ऐतिहासिक पक्षको अध्ययन र अनुसन्धान गर्न विशेषगरी विद्यार्थीहरु पुग्ने गरेका छन्।
काठमाडौं, चितवन, मकवानपुर र तराइका विद्यार्थीहरु अध्ययन भ्रमण र पिकनिकमा रमाउन गढीमा उक्लने गरेका छन्। ऐतिहासिक महत्त्व, मनमोहक दृश्य र पुराना किंवदन्तीले यहाँ पुग्ने जो कोही लोभिने गरेका छन्।
करिब १ सय ३५ रोपनी क्षेत्रमा फैलिएको यो गढी नेपालकै सबैभन्दा ठूलो मानिन्छ। करीव अढाइ सय वर्ष पुरानो अग्लो डाँडाको टुप्पामा वरिपरि चारैतिर अग्लो पर्खालले घेरिएको यो मकुन्दसेनको दरबार पृथ्वीनारायण शाहको ससुराली घर भनेर चिन्ने गरिन्छ।
सदरमुकाम हेटौंडाबाट करीब १७ किलोमिटर उत्तर–पूर्वमा रहेको यस स्थानमा ठूला–साना गरी करीब दुईसय गढी छन्। काठमाडौंको कान्तिलोकपथबाट हुँदै काठमाडौं–ठिगन–हेटौँडा ६८ किमि ३ घन्टामा जीपमा मकवानपुरगढी पुग्न सकिन्छ।


