काठमाडौँ- जलश्रोत तथा सिँचाइ विभागका तत्कालीन इन्जिनियर विष्णु कुमार श्रेष्ठविरुद्ध झन्डै ५ करोड भ्रष्टाचार गरेको भन्दै मुद्दा दायर भएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा आइतबार मुद्दा दायर गरेको हो।
सिँचाइ तथा जल उत्पन्न प्रकोप नियन्त्रणका नाममा निर्माण हुने संरचनाबाट ठेकेदारहरुसँग मिलेमतो गरी कमिसन लिएको आरोप श्रेष्ठमाथि छ।
२०४६ असार ३० गतेदेखि २०७७ असार ३१ गतेसम्म सरकारी सेवामा रहँदा उनले १६ करोड १३ लाख ९५ हजार आम्दानी गरेका थिए। तर ११ करोड २५ लाख ६५ हजार १९९ रुपैयाँ वैध रूपमा आम्दानी गरेको अख्तियारको अभियोगपत्रमा उल्लेख छ। बाँकी ४ करोड ८८ लाख रकम भने अवैधानिक आम्दानी रहेको उल्लेख गर्दै सोही रकमलाई बिगो कायम गरी मुद्दा दायर गरिएको हो।
बिगो असुल उपर गर्दै सोही बराबरको रकम जरिमाना गर्न माग गर्दै अख्तियारले विशेषमा दायर गरेको अभियोगपत्रमा उल्लेख छ।
श्रेष्ठले गैरकानूनी रुपमा आर्जन गरेको सम्पत्ति पत्नी लक्ष्मीकुमारी श्रेष्ठ, बाबु हरिकुमार श्रेष्ठ, आमा इन्द्रकुमारी श्रेष्ठ र छोरा विवेक श्रेष्ठ समेतको नाममा राखेका थिए।
गैरकानुनी रूपमा आर्जन गरी अन्य व्यक्तिका नामा राखेको सम्पत् बढेबढाएको भए सोसमेत जफत गर्नुपर्ने अख्तियारको माग छ।
उक्त सम्पत्ति जफत गर्ने प्रयोजनको लागि पत्नी, बाबु, आमा र छोरालाई पनि प्रतिवादी बनाइएको छ।


