काठमाडौं- सरकारले वर्षायाममा ५० युनिटसम्म विद्युत निशुल्क वितरण गर्ने भएको छ। हिउँदमा भने ३० युनिट मात्र निशुल्क गरिने सरकारको नीति तथा कार्यक्रममा उल्लेख छ।
सरकारले आगामी २ वर्षमा सबै नेपालीको घरमा विद्युत पुर्याउने नीति लिएको छ। विद्युतमा सबै नागरिकको पहुँच पुर्याउन विपन्न नागरिकलाई निशुल्क विद्युतीय मिटर उपलब्ध गराइने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ।
ग्यासलाई विद्युतीय चुलोबाट विस्थापन गरिने र सन् २०४५ सम्ममा शून्य कार्बन उत्सर्जनको कार्यक्रम ल्याइने समेत नीतिकार्यक्रममा उल्लेख छ।
खनिज ऊर्जालाई नवीकरणीय तथा स्वच्छ ऊर्जाले विस्थापन गर्ने, हाइड्रोजन उर्जाको विकास गर्ने, उर्जा उत्पादनमा निजी क्षेत्रलाई प्रोत्साहन गरिने लगायत नीतिहरु अवलम्वन गरिने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ।
ऊर्जाको निर्यात बढाउन उर्जाको उत्पादन, वितरण तथा प्रसारणका लागि आवश्यक पूर्वाधार तयार पारिने, जलाशययुक्त परियोजना निर्माणलाई प्राथमिकता राखिने, जलविद्युतमा प्रत्यक्ष वैदेशिक लगानी ल्याउने नीति अवलम्बन गरिने भएको छ।
यस्तै बुढीगण्डकी आयोजना निर्माणलाई तीव्रता दिने उल्लेख गरिएको छ।


