काठमाडौँ -महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले तत्काल मधेशवादी दलहरु एक हुने सम्भावना नरहेको बताएका छन्।
आज काठमाडौँमा गजेन्द्रनारायण सिंहको २४औँ पुण्यतिथिको अवसरमा आयोजित कार्यक्रमपछि सञ्चारकर्मीसँग उनले मधेशवादी दलहरु अहिले नै एक हुने सम्भावना नरहेको बताएका हुन्।
उनले निजी स्वार्थका कारण मधेशवादी दलहरु फुटेका आरोप पनि लगाए। उनले स्वार्थमा काम गर्नेहरुलाई पदच्युत भएसँगै कसैले नचिन्ने चेतावनी दिए। उनले धर्तीमा रहँदा केही नाम रहनेगरी काम गर्नुपर्ने बताए।
‘निजी स्वार्थका लागि मधेशवादी दलहरु छिन्नभिन्न भएका छन्‚ सबै स्वार्थमा लाग्नुभएको छ। मैले जहिले पनि भनेको छु, केही काम गर, धर्तीमा रहँदा‚’ उनले भने, ‘स्वार्थमा लागेका नेतालाई पद सकिएपछि कसैले पनि नाम लिँदैन। मधेशवादी सबै नेताहरु एक हुनु राम्रो कुरा हो तर एक हुने सम्भावना देखेको छैन।’


