लेखनाथ (कास्की) – प्रतिनिधिसभा सदस्य एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डा. स्वर्णिम वाग्लेले राजनीति सङ्लो हुन सके दश वर्षमा मुलुकमा समृद्धि हासिल गर्न सकिनेमा जोड दिएका छन्।
तनहुँ सम्पर्क समाज पोखराको आठौँ साधारणसभा तथा अधिवेशनको आज उद्घाटन गर्दै उनले राजनीतिक दलहरू सुशासन र विकासको अभियान लिएर अगाडि बढेमा मात्रै समृद्धि सम्भव हुने बताए।
राजनीतिक दलका अधिकांश नेताले राजनीतिलाई पेसा बनाएकै कारण विकासले गति लिन नसकेको पनि उनले दाबी गरे। कोरोना महामारीपछि मुलुकको अर्थतन्त्रमा समस्या देखिएको उल्लेख गर्दै अर्थतन्त्रको विकासका लागि सबै राजनीतिक दल एक ठाउँमा आउनुपर्ने उनको भनाइ थियो।
गण्डकी प्रदेश सरकारका पूर्वमन्त्री हरिबहादुर चुमानले मुलुकमा समृद्धि ल्याउनका लागि दलहरु मिल्नुपर्नेमा जोड दिए। गण्डकी प्रदेश नीति तथा योजना आयोगका पूर्वउपाध्यक्ष श्रीकान्त खतिवडाले केन्द्र सरकार ठूला आयोजनामा केन्द्रित हुन जरुरी भएको बताए।
त्यस अवसरमा सामाजिक एवं राजनीतिक व्यक्तित्व नीलकण्ठ शर्मालाई तनहुँ रत्नबाट सम्मानित गरिएको थियो। ८० वर्षीय शर्मा नेपाली कांग्रेसका पुराना नेतासमेत हुन्।
प्राध्यापक अम्बिका भट्टराईले शर्माको व्यक्तित्वबारे चर्चा गरेका थिए।


