काठमाडौँ- सुर्तीजन्य पदार्थ सेवन गर्नेलाई तीनगुणा बढी हृदयघातको सम्भावना हुने गरेको पाइएको छ। सुर्तीजन्य पदार्थको सेवन नगर्नेको तुलनामा सेवन गर्नेलाई तीनगुणा बढी हृदयघात हुने सम्भावना हुने गरेको पाइएको हो।
हृदयघात चुरोट सेवन गर्ने, मधुमेह, कोलेस्टेरोल र उच्चरक्तचाप भएका मानिसमा बढी हुन्छ। तीमध्ये चुरोट पिउने मानिसमा हृदयघात हुने सम्भावना बढी हुने गरेको शहीद गङ्गलाल हृदय राष्ट्रिय केन्द्रका वरिष्ठ मुटुरोग विशेषज्ञ डा. चन्द्रमणि अधिकारीले जानकारी दिए।
अहिले युवा अवस्थामा नै चुरोट सेवन गर्नेक्रम बढेसँगै हृदयघातका घटनाहरु पनि धेरै नै हुने गरेको छ। उनका अनुसार सुर्तीजन्यपदार्थको सेवन गर्ने ५० वर्षभन्दा मुनिका आठगुणा, ५० देखि ६५ वर्ष उमेर समूहका लागि पाँचगुणा र ६५ वर्षभन्दा माथिका तीनगुणा बढी हृदयघात हुने सम्भवाना रहन्छ। यस्तै ४९ वर्ष मुनि सुर्तीजन्यसेवन गर्ने महिलालाई १३ गुणाबढी सेवन नगर्नेको तुलनामा बढी हृदयघात हुने गरेको छ।
अध्ययन अनुसार नेपालमा ४८.६ प्रतिशत पुरुष र १५.३ प्रतिशत महिलाले चुरोट सेवन गर्ने गरेका छन्। जाडोयाममा युवाहरुले चुरोट बढी सेवन गर्ने गर्दछन्। उनले चुरोट सेवनलाई छाड्ने हो भने हृदयघातको सम्भवना पनि कम हुने बताए।
उनका अनुसार चुरोट सेवन गर्न छाडेको २० मिनेटमा मानिसको उच्च रक्तचाप सामान्य हुने, तीन दिनमा श्वास फेर्न सजिलो हुने र एक वर्षमा हृदयघातको सम्भावना आधा घट्ने हुन्छ। त्यस्तै चुरोट छाडेको १५ वर्षमा सामान्य मानिस जस्तै हृदयघात हुने गर्दछ।
गंगालाल अस्पतालले सन् २०१८ मा एक हजार छ सय ६० जनामा हृदयघात भएर आएकामध्ये गरेको पछिल्लो अध्ययनअनुसार ४५ वर्षभन्दा मुनिका ११ दशमलव ८ प्रतिशतलाई हृदयघात चुरोट सेवनका कारण भएको जनाइएको छ।
यस्तै उच्चरक्तचाप ३६.६ प्रतिशत, मधुमेह २५.३ प्रतिशत र कोलस्टोरोल ७.८ प्रतिशतलाई हुने गरेको छ। उनले विभिन्न समयमा गरिएको अध्ययन अनुसार ४५ वर्ष मुनिका चुरोट खानेमा हृदयघात बढदै पाइएको बताए।
नेपालमा अहिले हृदयघात बढ्दै गएको पाइएको छ। चुरोटसँगै अस्वस्थ्य खानपान, उच्चरक्तचाप, मधुमेह, कोलस्टोरोलको कारणले मुटुका विरामी बढदै गएको छ। वरिष्ठ मुटुरोग विशेषज्ञ डा. अधिकारीका अनुसार सन् १९९० को तुलनामा सन् २०१७ मा ६० प्रतिशतले मुटुका बिरामी बढ्दै गएको पाइएको छ। सन् ११९० मा हृदयघातका कारणले ६७ जनाको मृत्यु हुने गरेको थियो भने सन् २०१७ मा सय जनाको मृत्यु हुने गरेको थियो।
‘चुरोट, हुक्का जस्ता सुर्तीजन्य पदार्थले गर्दा युवाहरुमा मुटुको रोग बढिरहेको छ, तारेको, भुटेको मासुले पनि हृदयघात बढाउँछन्।’
अर्का वरिष्ठ मुटुरोग विशेषज्ञ डा अनिल भट्टराईले सुर्तीजन्य पदार्थको सेवनले हृदयघात बढिरहेको बताए। ‘चुरोट, हुक्का जस्ता सुर्तीजन्य पदार्थले गर्दा युवाहरुमा मुटुको रोग बढिरहेको छ’, उनले भने, ‘तारेको, भुटेको मासुले पनि हृदयघात बढाउँछन्।’
उनले चुरोट र हुक्काले रगतलाई जमाउने गरेको बताउँछन्, ‘हुक्कालाई मानिसहरुले सामान्य रुपमा लिने गरेका छन्। यो फ्लेवर हो भनेर तान्ने गर्दछ’, उनले भने, ‘तर हुक्काले रक्तनलीको भित्तामा असर पुर्याउँछ। अनि हृदयघात सम्भवना हुन्छ।’
नेपालमा हरेक वर्ष २७ हजारभन्दा बढी मानिसहरुको मृत्यु सुर्तीजन्य पदार्थको सेवनका कारण हुने गरेको छ। अभिभावकले धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा बालबालिका र परिवारका अन्य सदस्यहरुमा श्वासप्रश्वाससम्बन्धी समस्या, मुटुरोग, क्यान्सरलगायतका स्वास्थ्य जोखिम बढाउँछ।
जीवनशैलीमा आएको परिवर्तनले पनि हृदयघात
मानिसका जीवनशैलीमा आएको परिवर्तनले नेपालमा हृदयघातका पनि बिरामी बढिरहेका छन्। डा. भट्टराईका अनुसार निष्क्रिय जीवनशैली, चिन्ता, युवा अवस्थामा नै चुरोट, सुर्ती तथा खैनी सेवन र चिल्लो–बोसो खानाले हृदयघातका बिरामी बढिरहेको छन्। घरभन्दा बाहिरको अस्वस्थ खानपान गर्नाले पनि हृदयघातका बिरामी बढिरहेको चिकित्सकले बताएका छन्।
गंगालाल अस्पतालमा अनुसार अस्पतालमा दैनिक चार जना हृदयघात आउने गरेका छन्। अस्वस्थ खानपान, तनाव, बाहिरी प्रदूषण र वङ्शाणुगत कारणले गर्दा मुटुको नली चाँडै बन्द भएर हृदयघात हुने गर्दछ।
‘धूमपान, मधुमेह र उच्च रक्तचाप भएका मानिसको मुटुको नली र अन्य नली बाक्लो हुँदै हृदयघातले आक्रमण गर्छ। यस्तै कोलेस्टेरोल, शारीरिक अभ्यासको कमी पेट बढ्ने, पसिना ननिकाल्ने, तनाव, बाहिरी प्रदूषण र वङशाणुगत कारणले गर्दा मुटुको नली चाँडै बन्द हुने गर्छ’, डा.अधिकारीले भने, ‘स्वस्थ्य जीवनशैली अपनाउने, खाना धेरै नखाने, स्वच्छ खाने, शारीरिक अभ्यास गर्ने, चुरोट नखाने, नियमित व्यायाम गर्न सके हृदयघातबाट बच्न सकिन्छ।’
मुटु जन्मजात बिग्रेर आउने, घाँटीको दुख्ने रोगबाट सुरु भई पछि मुटुको भल्व बिग्रने रोग (बाथ ज्वरजन्य रोग) जस्ता कारणले पनि मुटुका बिरामी हुने गरेका छन्।
हृदयघात भएको १२ घण्टामा जीवन बचाउन सकिन्छ
वरिष्ठ मुटुरोग विशेषज्ञ डा.अधिकारी हृदयघात भएका बिरामी १२ घण्टाभित्र अस्पतालमा आउनसके बचाउन सकिने बताउँछन्। केन्द्रले हृदयघात भएका बिरामीलाई २४ घण्टा नै एन्जिओप्लाष्टी गरेर बचाउने गर्छ। केन्द्रले हृदयघात भएर आएको एक घण्टाभित्र बिरामीको एन्जिओप्लाष्टी गर्ने उनी बताउँछन्। एउटा एन्जिओप्लास्टी गर्नका लागि रु एक लाख ५० हजार खर्च लाग्छ। त्यति रकम तिर्न नसक्ने गरिब–असहायका लागि केन्द्रले निःशुल्क एन्जिओप्लास्टी गर्ने गरेको छ।
विश्वमा स्टिमाई, एनेस्टीमाई र अनस्टेवल एन्गिना गरी तीन प्रकारका हृदयघात हुने गर्दछन्। स्टिमाई (मुटुमा रक्तसंचार हुने नली बन्द हुने) एनेस्टीमाई (रक्तनली केही बन्द भएर हुने हृदयघात र अनस्टेवल एन्गिना (मुटुको नशा बन्द भएको तर मासु मर्न नथालेर हुने हृदयघात)। ती तीन हृदयघातमध्ये पनि सबैभन्दा धेरै स्टिमाई हृदयघात हुन्छ, जुन भएका मानिसलाई समयमा नै अस्पताल पुर्याउनसके बचाउन सकिन्छ।
यस्तै अर्को अनस्टेवल एन्गिना प्रकारको हृदयघात पनि नेपालमा देखिने गर्दछ। ‘हृदयघात भएको मानिसका मुटुमा रगतको आपूर्ति बन्द भएपछि दुख्न थाल्छ। मुटुको मासु मरिसकुञ्जेल छाती दुख्ने गर्छ। मुटु दुखिरहेका बेलामा नै अस्पतालमा बिरामी पुर्याउनसके बचाउन सकिन्छ’, उनले भने, ‘बिरामी आएको १२ घण्टामा मुटुको प्राइमरी एन्जिओप्लास्टी (मुटुको नशा खोल्ने प्रविधि) शल्यक्रिया गरी नसा खोलेर बचाउन सकिन्छ।’
एनेस्टीमाई हृदयघात भएका बिरामीलाई भने केही समयपछि मात्र उपचार गरिन्छ। त्यस्ता बिरामीलाई भर्ना गरे केही दिनपछि शल्यक्रिया गरेर बचाउन सकिन्छ। केन्द्रले प्राइमरी एन्जिओप्लास्टी गरेका बिरामीलाई चार–पाँच दिनमै अस्पतालबाट घर पठाउँछ।
केन्द्रमा प्रत्येक महिना ५० जनाको प्राइमरी एन्जिओप्लास्टी गरेर हृदयघात भएका बिरामीलाई बचाउने गरेको उनी बताउँछन्। केन्द्रमा सन् २००६ देखि एन्जिप्लास्टी हुँदै आएको छ।
जाडोमा बढी
जाडोमा हृदयघात बढी हुने गरेको केन्द्रका निर्देशक डा. रवि मल्लले बताउँछन्। मानिसहरु जाडोमा घरमै बसिरहने, शारीरिक अभ्यास नगर्ने, बिहानी हिँडाइमा पनि नजाने जस्ता क्रियाकलापले नगर्दा मुटुमा समस्या आउने गर्दछ।
यस्तै जाडोयाममा चुरोट तथा मादकपदार्थ सेवन गर्नाले पनि हृदयघात हुने सम्भावना हुने गर्दछ। उनले जाडोमा नसा खुम्चिने गर्नाले रगतको आपूर्ति मुटुमा सहज नहुँदा पनि हृदयघात हुने खतरा बढी हुने गरेको बताए।
हृदयघात कसरी हुन्छ?
मुटुलाई काम गर्नका लागि अक्सिजन आवश्यक पर्छ जुन रगतले दिने गर्छ। मुटुमा रगत आपूर्ति गर्ने नसा हुन्छ जसबाट रगत मुटुमा आउने गर्छ। रगत आपूर्ति बन्द भयो भने हृदयघात हुन्छ। उमेर बढ्दै जाँदा मुटुको रक्तसञ्चार गर्ने नली साँघुरिँदै जाने र पछि बन्द भई मुटु बन्द हुने गर्छ। अहिले नली साँघुरिँदै जाने र मुटु बन्द भएर हुने हृदयघात धेरै हुने गरेको छ।
रगतको आपूर्ति सबै बन्द भएपछि मानिसको छाती दुख्न थाल्छ। धेरैजसो मानिस छाती दुखेपनि घरमै बस्छन्। अनि ढिला आउँछन्। रगतको आपूर्ति बन्द हुनाका साथै निरन्तर छाती दुखेपछि मुटुको मासु मर्ने गर्छ। मासु मरेपछि मुटुले काम गर्न छाड्छ र मानिसको ज्यान जान्छ।


