विराटनगर– पूर्वराष्ट्रपति विद्यादेवि भण्डारीले सक्रिय राजनीतिमा आउन सकिने बताएकी छिन्। विराटनगर पुगेकी भण्डारीले पत्रकारहरुसँगको कुराकानीमा राजनीतिबाट टाढिने अवस्था नभएको बताएकी हुन्।
‘भोलिका दिनमा राष्ट्रको आवश्यताले खोजी भए सक्रिय राजनीतिमा आउन सकिन्छ। तर, अहिले कुनै दलमा आबद्ध हुने निर्णयमा भने पुगिसकेको छैन,’ उनले भनिन्।
पूर्वराष्ट्रपति तथा उपराष्ट्रपति सक्रिय राजनीतिमा आउन नहुने बहस चलिरहेका बेला भण्डारीले सक्रिय राजनीतिमा आउन सक्ने बताएकी हुन्।
आफू राष्ट्रपति हुँदा पनि सक्रिय राजनीतिमै रहेको भण्डारीको भनाइ थियो।
‘राष्ट्रपति पद गैरराजनीतिक होइन। म राष्ट्रिय राजनीतिमा सक्रिय नै छु। राष्ट्रिय राजनीतिका समग्र एजेन्डामा छलफल गरिरहेको छु, शिक्षा, स्वास्थ्य, खानेपानी, जलवायु परिवर्नत, वैदेशिक रोजगारीमा जानुपर्ने युवाको बाध्यताजस्ता समस्या समाधानका लागि छलफल चलाउँदै आएकी छु,’ भण्डारीको भनाइ थियो।
‘नेकपा एमालेको आउँदो अध्यक्षको लागि तपाईको सक्रियता बढेको हो?’ भन्ने प्रश्नमा उनले दलीय राजनीतिमा लागेर जिम्मेवारी लिने वा नलिने विषयमा अहिले प्रवेश गरिनसकेको जिकिर गरिन्।
‘भोलिका दिनमा कुन दलमा काम गर्ने भन्ने कुरा पनि आउँछ। भोलि जाँदा एमालेबाटै जन्मेर हुर्केर आएको हुनाले त्यही जानुपर्ने हुन्छ। तर, अहिले छलफल भएको छैन,’ उनको टिप्पणी थियो।
गत असारमा भण्डारीले एमालेको पार्टी सदस्यता नवीकरण गरेकी थिइन्।


