काठमाडौँ- ताप्लेजुङस्थित पाथीभरा क्षेत्रमा केवलकार निर्माणको विरोध गर्ने समूहले देशका विभिन्न स्थानका ग्लोबल आईएमई बैंकका शाखा कार्यालयअघि धर्ना कार्यक्रम गरेको छ।
पाथीभरामा केवलकार निर्माणमा लागेको आईएमई समूह र सरकारको विरोधमा उक्त समूहले धर्ना कार्यक्रम गरेको हो।
धर्नामा सहभागीहरूले गृहमन्त्री रमेश लेखकको राजीनामा मागसमेत गरेका छन्।
पाथीभरा क्षेत्रमा केवलकार निर्माणको विरोध कार्यक्रममा सहभागीमाथि प्रहरीले गोली वर्षाएको भन्दै गृहमन्त्री लेखकको राजीनामा माग गरिएको हो। यस्तै गोली हान्न आदेश दिएको आरोपमा ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्मामाथि पनि कारबाही गर्नुपर्ने उनीहरूको माग छ।
सोमबार काठमाडौँको कमलादीमा पनि विरोध कार्यक्रम आयोजना गरिएको थियो। यस्तै पूर्वी क्षेत्रका विभिन्न शाखाअघि पनि विरोध कार्यक्रम गरिएको छ।
केबलकार निर्माणको विषयलाई लिएर ताप्लेजुङस्थित पाथीभरा क्षेत्रमा शनिवार विवाद भएको थियो। केबरलकार निर्माणको विरोधमा उत्रिएका स्थानीय र प्रहरीबीच झडप हुँदा ४ जना घाइते भएका थिए। यीमध्ये तीन जनाको अवस्था गम्भीर छ। झडपमा १२ प्रहरी घाइते भएका थिए।
विरोध गर्नेहरूले ग्लोबल आईएमई बैंकमा रहेको खाता बन्द गर्ने अभियान पनि चलाएका छन्। बैंकमा केवलकार निर्माण गर्ने आईएमई ग्रुपले अधिकांश सेयर होल्ड गरेको छ। ग्रुपका अध्यक्ष चन्द्र ढकाल निजी क्षेत्रका व्यापारीहरूको एउटा छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)का पनि अध्यक्ष छन्।


