धरान- औषधि पसल खोलेर धरानमा लागुऔषधको कारोबार गरेको आरोपमा दम्पती पक्राउ परेका छन्।
सुनसरीको धरान उपमहानगरपालिका–३ गौधारा स्थितबाट मेडिकल सञ्चालक दम्पत्ति र धरान–८ बाट अर्का एक दम्पत्तिलाई लागुऔषधसहित प्रहरीले पक्राउ गरेको छ।
माघ १४ गते प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो।
टोलीले मेडिकल पसलभित्र खानतलासी गर्दा कार्टुनमा लुकाइ राखेको ट्रामोल २ हजार क्याप्सुल र स्पास्पेन ७ हजार ९३० ट्याब्लेट बरामद गरेको थियो।
यी लागुऔषध बरामद गरी मेडिकल सञ्चालक धरान–३ का ४१ वर्षीय सुरज बनेम र उनकी श्रीमती ४२ वर्षीया टिम्पल श्रेष्ठलाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ।
लागुऔषध कारोबारको आरोपमा धरान–८ बस्दै आएका अर्का दम्पती पनि पक्राउ परेका छन्। पक्राउ पर्नेमा ३१ वर्षीय सन्तोष परियार र उनकी श्रीमती २० वर्षीया अनुष्का श्रेष्ठ छन्।
प्रहरीले उनीहरूको भान्साकोठाबाट ट्रामोल ५३२ क्याप्सुल र स्पास्पेन ५२८ ट्याब्लेट नियन्त्रणमा लिएको छ।


