काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले बारम्बार विश्वासको मत लिनुपर्ने तमासाबाट आफूहरू मुक्त भएको बताएका छन्।
सङ्घीय संसद् प्रतिनिधिसभाको पाँचौँ अधिवेशन प्रारम्भका अवसरमा बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन्।
‘गएको ६ महिनामा हाम्रो संसदीय राजनीतिमा दोहोर्याउनु नपरेको एउटा सुखद् पक्ष म यहाँ उल्लेख गर्न चाहन्छु,’ प्रधानमन्त्री ओलीले भने, ‘सत्ताको डुंगामा प्वाल पारेर फुत्त अर्कै डुंगा चलाउने र मुलुक एवं जनतालाई तिरस्कार गर्दै सत्ता–पत्ता खेलिरहने विद्रुप स्थितिको बन्ध्याकरण भएको छ।’
प्रतिनिधि सभाको पहिलो बैठकमा नै रास्वपाका सांसदले बैठक सञ्चालनमा अवरोध गरेका थिए।
प्रतिनिधि सभामा आफूहरूले पहिले बोल्न पाउनुपर्ने भन्दै उभिएका थिए। तर सभामुख घिमिरेले उनीहरूलाई बोल्नका लागि समय दिएनन्।
रास्वपाले भने आफ्नो अडान राखिरह्यो। सभामुखले उनीहरूलाई बसेर बैठक सञ्चालनको वातावरण बनाउन अनुरोध गरेका थिए।


