काठमाडौँ– गायिका एलिना चौहानले सम्बन्ध विच्छेदको मुद्दा दर्ता गराएकी छिन्।
शुक्रबार जिल्ला अदालत काठमाडौँमा चौहानले पति विष्णु सापकोटाविरूद्ध सम्बन्धविच्छेदको मुद्दा दायर गराएकी हुन्।
चौहानले वारेसमार्फत मुद्दा दायर गराएकी हुन्।
पछिल्लो समय चौहानको वैवाहिक जीवनमा दरार आएको चर्चाले सामाजिक सञ्जालमा हुने गरेको थियो।
गत वैशाख ५ गते बागलुङका विष्णु सापकोटा र एलिनाबीच विवाह भएको थियो।
एलिनाका पति अस्ट्रेलियामा व्यवसाय गर्दै आएका छन्।
यस्तो छ एलिनाको फिरादपत्र
म फिरादी (एलिना चौहान)लाई विपक्षी (विष्णु सापकोटा)ले अन्याय गरेकोले निज उपर निवेदन गर्न मुलुकी देवानी कार्यविधि संहिता, २०७४ को दफा १० र ८६ (१) नं. ले मेरो हक पुग्ने कुरामा मुलुकी देवानी संहिता, २०७४ दफा ९५ (ग) बमोजिम निम्नानुसारको फिराद पत्र लिई सम्मानित अदालतसमक्ष उपस्थित भएकी छु। फिराद दाबी बमोजिम न्याय पाउँ।
विपक्षी पति विष्णु सापकोटा र म फिरादीका बीच २०८१।०१।०५ गते मायाप्रेममा रहेकोमा सोही आधारमा सामाजिक परम्परा अनुसार विवाह भएको हो। हामी दुई बिचको वैवाहिक सम्बन्धबाट कुनै जायजन्म भएको छैन र म गर्भवती पनि छैन। म फिरादी र विपक्षी प्रतिवादीबीच विवाह भएको एक महिनापछि अष्ट्रेलिया गएका थियौं। अष्ट्रेलिया गएपछिका शुरुका केही दिनसम्म हामी दुई बिचको सम्बन्ध ठीकै राम्रै चलिरहेको थियो। निजका विरुद्ध मैले नेपाल तथा विदेशमा यस निवेदन बाहेक कुनै निवेदन दिएकी छैन।
म कलाकारिताको क्षेत्रमा काम गर्ने भएकोले कार्यक्रममा सहभागी हुन जाँदा कहिले काही केही अबेरसम्म पनि बस्नु पर्ने हुँदा विपक्षी पतिले अनेक शंका उपशंका गर्ने, कार्यक्रमको बिचमा नै फोन गरेर तुरुन्त घरमा आइज भनी मलाई मेरो काममा समय दिन पनि बाधा पुर्याउने गर्दा मनमुटाव हुने भइरहन्थ्यो। त्यस्तैमा तीन महिनाको बसाई पछि म नेपाल फर्किएँ।
नेपाल फर्किए पछि पनि म कलाकारिताको क्षेत्रमा हुने विभिन्न कार्यक्रमहरुमा व्यस्त हुँदा निज विपक्षीले मेरो चरित्रमाथि शंका उपशंकाको दृष्टिले हेरी अनेक लाञ्छना लगाउँदा मलाई मानसिक कष्ट भएको हुँदा हामी दुई बिचको वैवाहिक सम्बन्ध सुमधुर रहेर अगाडी बढ्न नसक्ने देखी म फिरादी र विपक्षी पतिबीच भावनात्मक रुपमा सुमधुर सम्बन्ध कहिल्यै हुन नसकी कागजी रुपमा मात्र रहेको पतिपत्नीको सम्बन्धमा रहनु बस्नु भन्दा मुलुकी देवानी कार्यविधि संहिता, २०७४को दफा ९५ (ग) का आधारमा सम्बन्ध विच्छेद गरी स्वतन्त्र भै आ-आफ्नो जीवन बिताउन श्रेयष्कर लागेकोले निज विपक्षीबाट अंश तथा मानाचामल नलिने गरी यो फिरादपत्र लिई सम्मानित अदालतसमक्ष उपस्थित भएकी छु। विपक्षीलाई यस सम्मानित अदालतमा झिकाई जे जो प्रमाण बुझनु पर्छ बुझी हामी बिच कायम रहेको पति पत्नीको नाता सम्बन्ध विच्छेद गराई पाऊँ।


