काठमाडौँ- राष्ट्रिय सभा सदस्य वामदेव गौतमले आफूलाई जिम्मेवारी दिए समाजवाद निर्माण गर्ने जिकिर गरेका छन्। तोकिदिएको समयमा समाजवाद निर्माण गर्न नसकिन आफू मृत्युदण्डको सजाय भोग्न तयार उनले बताएका हुन्। आइतबार राष्ट्रिय सभा बैठकमा सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन्।
‘समाजवाद निर्माण गर्न सकिन्छ। म आफूलाई दाउमा राख्न चाहन्छु,’ गौतमले भने, ‘मलाई मृत्युदण्ड दिइयोस् यदि समाजवाद निर्माण हुन सक्दैन भने। वर्ष तोकियोस्। यति वर्ष भित्रमा समाजवाद निर्माण गर्न सकिएन भने म मृत्युदण्डमा जान तयार छु।’
अहिले अध्यादेशले राजनीतिक माहोल तातेको भन्दै उनले अध्यादेश मुख्यतः राज्य सञ्चालन सत्ताधारी शक्तिलाई सकारात्मक सहयोग पुग्नेगरी निर्माण गरिएको संवैधानिक संरचना भएको बताए।
‘अहिले केही समयदेखि अध्यादेश राजनीतिक माहोल बनेको छ। म अध्यादेश पक्षधर पनि होइन, विपक्षमा पनि लागेको छैन। यसको सैद्धान्तिक थाहा छ,’ गौतमले भने, ‘अध्यादेश मुख्यतः राज्य सञ्चालन सत्ताधारी शक्तिलाई सकारात्मक सहयोग पुग्नेगरी निर्माण गरिएको संवैधानिक संरचना हो। तर प्रजातान्त्रिक परिपाटी उल्लंघन नहोस् भनेर अध्यादेश जारी गर्न धेरै शर्तहरू पूरा गर्नुपर्छ।’
खिचडी राजनीतिलाई बहिष्कार गर्न गौतमको सुझाव छ।


