काठमाडौँ- नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आम जनता पार्टीका केन्द्रीय सचिव एवं प्रवास प्रमुख बाबुराम कौशिकलाई पार्टीमा प्रवेश गराएका छन्।
उनीसँगै विभिन्न पार्टी परित्याग गरी माओवादी केन्द्रमा प्रवेश गर्ने नेता कार्यकर्ताहरुलाई प्रचण्डले भित्र्याएका हुन्। सोमबार बिहान आफ्नो निवास खुमलटारमा आयोजित कार्यक्रममा उनीहरुलाई पार्टीमा स्वागत गरेका हुन्।
पार्टी प्रवेश गर्नेहरुमा आजपाका स्थायी समिति सदस्य एवं पर्सा इञ्चार्ज कदम रसुल, ब्यापार महासंघका पूर्वकेन्द्रीय सदस्य बीरबहादुर बिदुर, एकीकृत समाजवादीका जिल्ला सदस्य सत्रुघन गिरी, आजपाका प्रदेश सदस्यहरु अवताव अहमद, सजिव गुप्ता, दिलिप गुप्ता, विकास पटेल, जिल्ला सदस्य आकाश पटेल, जिल्ला सदस्य नारायण देवान, नगर सदस्यहरु सुनिल मोदी, नुर मियाँ, सोनालाल मण्डल, चुनु महतोलगायत छन्।
पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले देशव्यापीरुपमा माओवादी केन्द्रमा प्रवेशको लहर चलेको उल्लेख गर्दै सबैलाई एकताबद्ध र ध्रुवीकृत हुन आह्वान गरे।
नवप्रवेशी बाबुराम कौशिकले आफूहरुले पार्टीलाई माओवादी केन्द्रसँग एकताका लागि दबाब दिए पनि ढिलाई भएकाले आफूहरु प्रवेश गरेको जानकारी दिए।


