बजारमा अण्डाको मूल्य बढेको छ। नेपाल लेयर्स कुखुरापालक संघले मंगलबारदेखि लागू हुने गरी अण्डाको मूल्य बढाउने निर्णय गरेको हो।
संघका अध्यक्ष विनोद पोखरेलका अुनसार न्यूनतम प्रतिक्रेट १५ रूपैयाँदेखि अधिकतम ३० रूपैयाँका दरले अण्डाको मूल्य बढ्ने भएको हो।
‘आज हामी अण्डा उत्पादकहरू बैठक बसेका थियौं,’ उनले भने, ‘बैठकले भोलिबाट मूल्य बढाउने निर्णय गरेको छ।’
बजारमा मध्यम, ठूलो र एक्स–एल गरी तीन आकारका अण्डा आउँछन्।
अहिले ठूलो अण्डाको मूल्य प्रतिक्रेट तीन सय ७०, मध्यम तीन सय ५५ र एक्स–एल अण्डा तीन सय ८५ रूपैयाँ छ।
भोलिबाट ठूलो अण्डा ४००, मध्यम ३८५ र एक्स–एल अण्डा ४१५ रूपैयाँ पर्नेछ। यो किसानले पाउने मूल्य हो।
किसानले पाउने मूल्य बढेसँगै उपभोक्ता मूल्य पनि बढ्ने छ।
पोखरेलका अनुसार जाडोका कारण उत्पादनमा कमी, अण्डा उत्पादन गर्ने कुखुरामा गिरावट, पर्यटक बढेको र स्कुल कलेज सञ्चालनमा आएसँगै अण्डाको माग बढेकाले मूल्य पनि बढेको हो।
किसानको फार्ममा बुढो कुखुरा बिक्री भएसँगै धेरै किसान विस्थापित भएकाले नयाँ चल्ला हाल्न नसकेको उनको भनाइ छ। उनले भने, ‘अहिलेको अवस्थालाई हेर्दा अण्डाको मूल्य क्रमश बढ्ने देखिन्छ’, उनले थपे, ‘अण्डाको मूल्य बढेपछि किसान उत्साहित बनेका छन्। अहिले दैनिक २२ लाख गोटा हाराहारी अण्डा उत्पादन हुँदै आएको छ।’
पोल्ट्री व्यवसायी मञ्चका निवर्तमान अध्यक्ष राजेन्द्र लामिछानेले उत्पादन घटेको र माग बढेपछि अण्डाको मूल्य बढेको बताए। उनले भने, ‘अण्डा हुनेले अब लागत मूल्य पाउने भएका छन्।’


