काठमाडौँ- सञ्चार तथा सूचना प्रविधिमन्त्रीसमेत रहेका सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले सरकारले संसद छल्ने नियत नबनाएको जिकिर गरेका छन्।
बुधबार रफत सञ्चार क्लबको वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री गुरुङले यस्तो बताएका हुन्।
‘सरकारले अध्यादेश ल्याउँदा संसद छल्ने नियत बनाएको भनेर टिप्पणी भइरहेको छ। तर संसद छल्ने नियत होइन। कानुन छिटो बनाउने प्रयास हो,’ उनले भने, ‘नियमित रूपमा कानुन बनाउने प्रक्रियामा जाँदा लामो समय लाग्ने रहेछ। तर अध्यादेश त संसदमा टेबल भएको ६० दिनभित्र पारित हुनुपर्ने व्यवस्था छ। यसो गर्दा छिटो कानुन बनाउनका लागि अध्यादेश ल्याएका हौँ। संसद छल्ने नियत भन्ने आरोपमा कुनै आधार छैन।’
सरकारले सबै अध्यादेशलाई संसदमा टेबल गरिसकेकाले अब तोकिएको म्यादभित्रै पारित हुने र नभए सरकारले फेरि संसदमा नै विधेयक ल्याउने प्रष्ट पारे।
अध्यादेशको प्रक्रिया भन्दा पनि त्यसभित्रका कन्टेन्ट महत्वपूर्ण हुने उनको भनाइ छ। संसदमा ल्याइसकेका अध्यादेशहरू पारित नभए फेरि पनि संसदमा नै आउने भएकाले संसद छल्ने भन्ने प्रश्न नै नरहेको उनको भनाइ थियो।
उनले अनलाइन मिडिया क्षेत्र छाडा भएकाले त्यसलाई नियमन गर्नुपर्ने आवश्यकता ठहर गरेका कारण सामाजिक सञ्जाल विधेयक संसदमा ल्याइएको पनि बताएका थिए।


