काठमाडौँ – नेकपा एमालेका महासचिव शंकर पोखरेलले ऋण लिनु हुँदैन भन्नु विकासविरोधी भएको बताएका छन्।
नेपालमा केही वर्षदेखि सरकारी ऋणको विषयमा बहस सुरु भएको भन्दै उनले यो चिन्तनले नेपाललाई सधैँ पछि धकेल्ने बताए।
बिहीबार फेसबुकमा ‘राज्य र ऋण’का कुरा लेखेका पोखरेलले नेपाललाई ऋणको पासोमा डुबाएको आरोप लाग्ने गरेको समेत स्मरण गराएका छन् ।
पोखरेलले आय र व्ययबीच सन्तुलन कायम राख्न आन्तरिक र बाह्य ऋण लिने प्रचन सबैतिर हुने तर त्यसको सदुपयोग कि दुरुपयोग भन्ने विषय मुख्य कुरा भएको लेखेका छन्।
‘ऋण नै लिनु हुदैन भन्नु नेपाललाई सदैव पछि धकेल्ने कोशिस हो । यो प्रकारको चिन्तन विकास विरोधी हो । अझ आफुलाई विकासको हिमायती र योजनाकारका रुपमा चित्रण गर्नेहरुले नै ऋणको त्रास सिर्जना गर्नु त झनै उदेक लाग्दो कुरा हो’, पोखरेलले लेखेका छन्।
अमेरिका कुल गार्हस्थ्य उत्पादनको १२५ प्रतिशत माथिको सरकारी ऋण भएको मुलुकमा पर्ने पनि पोखरेलले लेखेका छन्।
‘जापानमा सरकारी ऋण कुल गार्हस्थ उत्पादनको २३६ प्रतिसत भन्दा माथि छ । जबकी नेपालमा सरकारी ऋण कुल गार्हस्थ उत्पादनको ४० प्रतिशतको हाराहारीमा मात्र छ । तर नेपाल ऋणमा डुव्यो । केपी ओलीले मुलुकलाई ऋणको पासोमा डुवाए भनेर हल्ला गरिदैछ’, पोखरेलले नेपाल दक्षिण एसियामै कम सरकारी ऋण भएको मुलुक परेको बताएका छन् ।
उनले लेखेका छन्, -तर नेपालको भन्दा कयौँ गुणा बढी सरकारी ऋण भएका मुलुकहरुमा नेपालमा जस्तो सरकार ऋणमा डुव्यो भनेर हल्ला गरेको सुनिदैन, तीव्र विकास र ठुला पूर्वाधार निर्माणका लागि सरकारले ऋण लिएर श्रोत जुटाउनु स्वभाविक नै मानिन्छ । तर त्यस्ता आयोजनाहरु मुलुकको अर्थतन्त्रको विकास र प्रतिफल दिने खालको भने हुनुपर्दछ ।’


