काठमाडौँ- गृहमन्त्री रमेश लेखकले अन्तरजातीय विवाहप्रति गरेका नेहा र सत्येन्द्रको संरक्षण सरकारले गर्ने बताएका छन्।
प्रतिनिधिसभाकोे बैठकको आकस्मिक र शून्य समयमा सांसदले उठाएका प्रश्नको जवाफ दिँँदै गृहमन्त्री लेखकले अन्तर्जातीय विवाह गरेका नेहा रौनियार र सत्येन्द्रकुमार रामलाई राज्यले पूर्ण रूपमा सुरक्षा दिने बताएका हुन्।
अन्तरजातीय विवाह सम्वन्धमा प्रकाशित समाचार अभिव्यक्त चासोहरु र सांसदहरुले उठाएको विषयमा गम्भीर रुपमा ध्यानार्कषण भएको बताए।
उनले पीडितको गुनासो सम्बोधन गर्ने र सम्पूर्ण सुरक्षाको प्रत्याभूति दिने कुरामा गृह मन्त्रालय प्रतिबद्ध रहेको बताए। ‘नेहा र सत्येन्द्रको पूर्ण सुरक्षाको प्रत्याभूति गरिनेछ, उहाँहरुको जीवनमा कुनै प्रतिकुल प्रभाव पर्न दिइने छैन, म प्रतिवद्धता व्यक्त गर्न चाहन्छु,’ लेखकले भने।
तथ्यहरूलाई तोडमोड गर्ने र समाजलाई अनावश्यक रुपमा विभाजनतिर धकेल्ने मनसायका साथ समाचार सम्प्रेषण नगर्न मन्त्री लेखकले सञ्चारजगतलाई आग्रहसमेत गरेका थिए।
जातीय विभेद र छुवाछुतको विरुद्धमा आफू सधैँ उभिने गरेको उनको भनाइ छ। अन्तरजातीय विवाहलाई कानूनले नै मान्यता दिएको बताउँदै उनले उक्त कानूनी व्यवस्थालाई कार्यान्वयन गर्ने निकाय गृहमन्त्रालय भएको र गृह मन्त्रालय कानूनी व्यवस्थालाई अक्षरः कार्यान्वयन गराउन प्रतिवद्ध रहेको जानकारी दिए।


