काठमाडौँ- नेपाल समाजवादी पार्टी ( नयाँ शक्ति) का अध्यक्ष डा. बाबुराम भट्टराईले तीन जना शीर्ष नेता मिलेर देशलाई खाइरहेको बताएका छन्।
आइतबारबाट सुरु भएको पार्टीको महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै यस्तो बताएका हुन्।
‘हामीले पुराना शक्तिले भएन, कांग्रेसले गरेन, यसले गरेन भनिरहेका छौं। तीनवटा टाउका छन्, उनीहरूले पालैपालो खाइरहेका छन्,’ भट्टराईले भने। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालतर्फ संकेत गर्दै बाबुरामले रोष प्रकट गरेका हुन्। तीन नेताहरू पालैपालो प्रधानमन्त्री बन्ने विषयलाई उनले कटाक्ष गरेका हुन्।
बाबुरामका दृष्टिमा उनीहरू सत्तामा रहुन्जेल धेरै काम गरेको भन्ने र बाहिर निस्किएपछि हरेक कुरा भएन भनेर गुनासो गर्ने प्रवृत्ति उनीहरूमा छ।
‘फेरि सत्तामा छउन्जेल उत्पात गरेका छौं भन्छन् अनि बाहिर निस्किएर यो पनि भएन त्यो पनि भएन भन्छौं। पटक पटक यी तीनवटा टाउकाले देशलाई हैरान पारिरहेका छन्,’ भट्टराईले भने।


