काठमाडौँ- जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले आफ्नो दल सरकारले संसदमा पेस गरेका अध्यादेशप्रति सकारात्मक रहेको बताएका छन्। आइतबार सिंहदरबारमा बसेको संसदीय दलको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले यस्तो बताएका हुन्।
संसद्बाट अध्यादेश पारित गर्न आफूहरुको कारणले नअड्किएको उनको जिकिर थियो। अध्यादेशका विषयमा पार्टीले धारणा बनाइरहेको र यसमा सकारात्मक र क्रिएटिभ रहेको उनको भनाइ थियो।
देश र जनताको हितमा आफूहरुको निर्णय हुने बताए। सरकारले संसद्को कार्यसूचीमा राख्नेबित्तिकै पार्टीले निर्णय लिने बताए।
‘हामीले कहाँ अड्काएका छौँ त? सरकारले कार्यसूचीबाट आफै फिर्ता लिन्छ। अनि हामीले अड्काएको कसरी भयो? हामी धारणा बनाउँदै छौँ। हाम्रो सोच सकारात्मक छ। क्रिएटिभ रुपले हामी सोच्दै छौँ,’ उनले भने, ‘देश र जनताको हितमा हामी अगाडि बढ्छौँ। सरकारले कार्यसूचीमा राख्नेबित्तिकै हाम्रो निर्णय हुन्छ। हामी सरकारमा जाने अवस्थामा अहिले छैनौँ। हामीलाई मन्त्रालय चाहिएन। देश र जनताको हितमा काम चाहियो।’


