काठमाडौँ- प्रतिनिधि सभाका सदस्य डा अमरेशकुमार सिंहले काठमाडौँ महानगरपालिकाका मेयर बालेन साहलाई हिटलर र मुसोलिनीको संज्ञा दिएका छन्।
प्रतिनिधिसभाको आजको बैठकको सुरुमा आकस्मिक समय लिएर बोलेका सांसद सिंहले यस्तो संज्ञा दिएको हो। नाजीवादी शैलीमा गरिब र विपन्नहरूमाथि मेयर बालेनले अन्याय गरिरहेको बताए।
‘काठमाडौं महानगरका मेयरले हिटलरको शैलीमा दिनदहाडै कवाड व्यवसायीमाथि डोजर चलाएर गरिब मजदुरलाई घाइते बनाएका छन्। जर्मनीमा लोकतान्त्रिक प्रक्रियाबाटै नाजीवादको उदय भएजस्तै मेयर साह तानाशाह बनेर निस्किएका छन्,’ उनले भने, ‘बालेनको गतिविधिले जर्मनीको हिटलर, इटलीको मुसोलिनीको याद आएको छ।’ हिटलर र मुसोलिनी तानाशाही शासकका रूपमा इतिहासमा चिनिन्छन्।
संघीय सरकारलाई के यो न्याय मरेको देश हो, कानुन मरेको देश हो भन्दै सांसद सिंहले प्रश्न गरेका थिए। काठमाडौं सबै नेपालीको राजधानी भएको भन्दै उनले सांसद सिंहले संसद् भवन, सिंहदरबार, रामशाहपथको सर्वोच्च अदालत, प्रधानमन्त्रीनिवास बालुवाटर र राष्ट्रपति कार्यालय शीतलनिवास भत्काएर देखाउन बालेनलाई चुनौती दिए।


