काठमाडौँ – नाबालिगलाई घरेलु कामदार बनाएको आरोप लागेकी एमालेकी प्रदेश सांसद रेखाकुमारी शर्माविरुद्ध सरकारी वकिल कार्यालयले मुद्दा नचल्ने निर्णय गरेको छ ।
माघ १८ गते जिल्ला न्यायाधिवक्ता सन्तोषराज कटुवालले मुद्दा नचल्ने निर्णय गरेका हुन्। सोही आधारमा २० गते उच्च सरकारी वकिल कार्यालय पाटनलाई समेत पत्राचार गरेको थियो।
उच्च सरकारी वकिलको कार्यालय पाटनले समेत जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँले गरेको मुद्दा नचल्ने निर्णयको सदर गर्दै महान्यायाधिवक्ताको कार्यालय पठाइसकेको छ । उच्चले २२ गते निर्णय सदर गर्दै २३ गते महान्यायाधिवक्ताको कार्यालयमा पठाएको हो।
लुम्बिनी प्रदेश सभामा दाङबाट निर्वाचित सांसद शर्माले १४ वर्षीया बालिकालाई ८ वर्षदेखि घरेलु कामदारका रूपमा राख्दै आएको पाइएको थियो । आफूलाई श्रम शोषण गरेको, कुटपिट गरेको भन्दै पीडित बालिकाले काठमाडौँ महानगरमा सम्पर्क गरेकी थिइन् । सोही आधारमा महानगरसहित सरोकारवालाको टोलीले बालिकाको बालुवाटारस्थित शर्माकै घरबाट उद्धार गरेको थियो ।
परिवारलाई पढाइदिने भन्दै काठमाडौँ ल्याएकी शर्माले बालिकालाई विद्यालयमा भर्ना गरे पनि घरेलु काममा लगाउने, पाइप रडले कुट्ने लगायतका यातना दिने गरेको भन्दै बालिकाको आरोप थियो ।
बालिकालाई सेफ हाउसमा राखेर सांसद शर्माविरुद्ध गत जेठ ३० गते श्रम शोषण तथा दुर्व्यवहार भएको भन्दै जिल्ला प्रहरी परिसर काठमाडौँमा जाहेरी परेको थियो ।
प्रहरीमा जाहेरी परेपछि निषेधाज्ञाको माग गर्दै शर्मा पाटन उच्च अदालत पुगेकी थिइन्। उच्चले माग दाबी नपुग्ने भन्दै साउन २३ गते रिट खारेज गरेको थियो ।
लामो समयदेखि प्रहरीले अनुसन्धान र मुद्दा अगाडि नबढाएकाे भन्दै काठमाडौँ महानगरका मेयर बालेन शाहले फेसबुकमार्फत चर्को विरोध गरेका थिए।


