काठमाडौँ– जनता समाजवादी पार्टी (जसपा) नेपालले भूमिसम्बन्धी अध्यादेश अस्वीकार गर्ने निर्णय गरेको छ।
सिंहदरबारमा बसेको संसदीय दलको बैठकले भूमिसम्बन्धी अध्यादेशमा समर्थन नगर्ने निर्णय गरेको उपाध्यक्ष राजकिशोर यादवले बताए।
भूमिसम्बन्धी अध्यादेश दीर्घकालीन रूपमा मुलुकको हितमा नभएको निष्कर्ष निकाल्दै यस्तो निर्णय गरिएको यादवको भनाइ छ।
बाँकी ५ वटा अध्यादेश आवश्यक छलफल गरेर समर्थन गर्न सकिने निर्णयमा जसपा नेपाल पुगेको छ।
प्रतिनिधि सभामा सत्ता पक्षमा सहज बहुमत भएपनि राष्ट्रिय सभामा आवश्यक बहुमत नहुँदा सरकारले जसपाको साथ चाहेको थियो। राष्ट्रिय सभामा जसपा नेपालका ३ सांसद छन्। जसपा नेपाल विपक्षमा उभिएपछि सरकारले ल्याएको भूमि अध्यादेश पारित नहुने सम्भावना बढेको छ।
सरकारले माघ १८ गते प्रतिनिधि सभा र राष्ट्रिय सभामा ६ वटा अध्यादेश दर्ता गरे पनि अहिलेसम्म निर्णयार्थ पेस गरेको छैन। बाँकी ५ अध्यादेश पारित गराउन भने सहयोग गर्न सकिने जसपाले यसअघि नै संकेत गरेको थियो।
‘अरू अध्यादेशमा सकारात्मक छौँ,’ यादवले भने।
अध्यादेश अध्ययन गर्न राजकिशोर यादव नेतृत्वमा जसपा नेपाल कार्यदल पनि बनेको थियो।


